एजेन्सी, २५ कार्तिक । पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज सरिफ थप उपचारका लागि भोलि लण्डन जानुहुने भएको छ ।
सरिफको स्वास्थ्य स्थिति अध्ययन गरेपछि सरकारले उहाँलाई बेलायत जाने अनुमति दिएको हो । स्रोतले भनेको छ, ‘नवाज सरिफ नोभेम्बर ११ तारिख सोमबारका दिन लण्डन उड्नुहुने भएको छ ।’
प्रधानमन्त्रीका विशेष सहयोगी नइम उल हकले सरिफको स्वास्थ्य सम्बन्धी सम्पूर्ण विवरण सरकारले अध्ययन गरेर उहाँको अवस्था नाजुक रहेको निश्कर्ष निकालेको संचारकर्मीहरुलाई जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘हरेक पाकिस्तानीले आफूले चाहेको ठाउँमा उपचार गर्न पाउनु उनीहरुको अधिकार हो, त्यसैले पूर्व प्रधानमन्त्री सरिफलाई पनि विदेश उपचारका लागि सरकारका तर्फबाट कुनै रोकतोक छैन ।’
भ्रष्टाचारको अभियोगमा जेल सजाय भोगिरहनु भएका सरिफ कारागारमै बिरामी भएपछि अदालतकै आदेशमा उहाँलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।
पाकिस्तानी सञ्चार माध्यमहरुका अनुसार ६९ वर्षीय सरिफसँगै उहाँका भाइ तथा पाकिस्तान मुस्लिम लिग—नवाजका अध्यक्ष शहवाज सरिफ जानुहुनेछ ।
प्रतिक्रिया दिनुहोस्