समाचार

पाँचथरमा टिपर दुर्घटना : नेपाली सेनाका जवानसहित दुई जनाको मृत्यु



पाँचथर, २७ कार्तिक । निर्माणाधीन कोशी कोरिडोर अन्तर्गत पाँचथरको हिलिहाङ गाउँपालिका–४ सालिङ्गेमा टिपर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ ।

हिलिहाङकै सुभाङदेखि सडक निर्माणको काम गरेर कोरिडोरको ४ नम्बर क्याम्प अमरपुर फर्किदै गर्दा मंगलबार राति साढे ८ बजेतिर सालिङ्गे ठाउँमा करिब ५० मिटर तल खसेर मृत्यु हुनेमा रसुवा कन्सट्रक्सन प्रा.लि.को बा २ ग २९२० नम्बरको टिपर चालक धादिङ घर भएका करिब २६ वर्षीय विनोद तामाङ र कन्सट्रक्सनकै पूर्वकर्मचारी हिलिहाङ–१ अमरपुरका २२ वर्षीय भीम तामाङ रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

दुर्घटनामा मृत्यु भएका भीम भने हालै नेपाली सेनामा भर्ती भएका थिए । उनी यसअघि रसुवा कन्सट्रक्सनमै स्टोर किपरको रुपमा कार्यरत रहेको र बरबुझारत गरेर फर्किने क्रममा दुर्घटनामा परेका हुन् ।