नेपालगञ्ज, २९ कार्तिक । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस सम्बद्ध नेपाल तरुण दलले हतियारसहित पक्राउ परेका नेपालगञ्ज नगरसभापति सन्दीपजंग शाहलाई रिहा गर्न माग गर्दै बाँके बन्द गराएको छ ।
हतियारसहित पक्राउ परेका नगरसभापति शाहलाई नेपाल प्रहरीले अनुसन्धान गर्ने प्रकृयालाई नै प्रभावित पार्ने गरी तरुण दलले शुक्रबार बाँके जिल्ला बन्दको आह्वान गरेको हो । तरुण दल बाँके जिल्ला समितिले आह्वान गरेको बन्दका कारण जिल्लाको जनजीवन प्रभावित भएको छ । आफ्ना नेता(कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको विरोधमा तरुण दलले बन्द आह्वान गरेको हो ।
प्रहरीले उनको साथबाट हतियार बरामद भएको भने पनि तरुण दलले भने त्यो हतियार प्रहरीकै भएको र आफ्ना कार्यकर्ताहरुलाई फसाउने झूठो आरोप लगाइएको दाबी गर्दै आएको छ ।
रिसोर्टको पूर्वतर्फ पार्किङ गरिराखेको बा १८ च ४२११ नम्बरको कारको बायाँतर्फको सिटमा फल्स बटम बनाएर लुकाएर राखेको अवस्थामा अटोमेटिक पेस्तोल एक थान र दुई राउन्ड गोली बरामद भएको दाबी प्रहरीको छ । तरुण दलको नेपालगञ्ज नगरसभापति सन्दीपजंग शाहसहित राघव शाह, माधव नेपाली, जयबहादुर बुढा र प्रितम थापामगरलाई कोहलपुरका डिएसपी हेमबहादुर शाही नेतृत्वको टोलीले यही कात्तिक १४ गते बाँकेको जानकी गाउँपालिका-६ गनापुरस्थित नमस्ते रिसोर्टबाट पक्राउ गरेको थियो ।










प्रतिक्रिया दिनुहोस्