राजनीति

इमान्दार, निष्पक्ष र निर्भिक भएर कानून कार्यान्वयन गर्न प्रहरीलाई आईजीपी खनालको निर्देशन



काठमाडौँ, २  मंसिर । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी कर्मचारीलाई इमान्दार, निष्पक्ष, निडर र निर्भिकताका साथ कानून कार्यान्वयन गर्नेतर्फ अग्रसर हुन निर्देशन दिएका छन् ।

आइतबार महानगरीय प्रहरी दिवस २०७६ का अवसरमा राजधानीमा आयोजित समारोहमा बोल्दै महानिरीक्षक खनालले जिम्मेवारीप्रति लगनशील भइ कार्य गरेमा हरेक घटनाको अनुसन्धानमा प्रहरीलाई सफलता मिल्ने बताएका हुन् ।

प्रहरी कर्मचारीलाई इमान्दार, निष्पक्ष, निडर र निर्भिकताका साथ कानून कार्यान्वयन गर्नेतर्फ अग्रसर हुन निर्देशन दिँदै उनले समाजमा शान्ति सुरक्षा, अमनचयन कायम गरी नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाइ समाजलाई भयरहित बनाउनु प्रहरीको जिम्मेवारी भएको बताए ।

समारोहमा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले शान्तिसुरक्षा कायम गर्न महत्वपूर्ण सहयोगी र फलदायी रहेको समुदाय प्रहरी साझेदारी कार्यक्रमलाई अझै प्रभावकारी बनाउन सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता जनाए ।