भक्तपुर,३ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेकपाको सरकारले सिमा सुरक्षित गर्ने ऐतिहासिक जिम्मेवारी पुरा गर्ने बताउनु भएको छ ।
आगामी मंसिर १४ गते भक्तपुर क्षेत्र नं. १ प्रदेश नं. १ (क) मा नेकपाले आज चाँगुनारायणमा आयोजना गरेको घरदैलो कार्यक्रममा बोल्दै उहाँले जनताले सिमा सुरक्षित गर्ने ऐतिहासिक जिम्मेवारी नेकपालाई दिएकाले त्यो जिम्मेवारी ऐतिहासिक रुपमा पुरा गर्ने बताउनुभयो । २१ शताब्दीको दोश्रो दशकमा पार गरिरहदा पनि हाम्रो देशको सिमाना अंकित हुन नसक्नु विगतका सरकारले यसमा ध्यान दिन नसकेको प्रष्ट भएको भनाई राख्नुभयो ।
खनालले भन्नुभयो–“आज हामी कालापानी, लिपुलेक, लिम्पियाधुराका लागि लडिरहेका छौ, सुगौली सन्धिबाट हामीले प्राप्त गरेको भूमि विगतका सरकारले सुरक्षित गर्न सकेनन् अब नेकपाको सरकारले सिमा सुरक्षित गर्ने ऐतिहासिक जिम्मेवारी लिएको छ, नेकपाको सरकार सिमा सुरक्षाको काम ऐतिहासिक रुपमा पुरा गर्न दृढ रुपमा अगाडि बढेका छ ।”
देशमा प्रशस्त बिजुली र पानी भएर पनि देश अन्धकारमा बस्नु पर्ने अबस्थाको अन्त्य गरि लोडसेडिङ्ग मुक्त देश बनाउदै सरकारले राष्ट्रव्यापी रुपमा बिजुलीकरण गर्ने योजना अगाडि बढाएको बताउनुभयो । पूर्वप्रधानमन्त्री एवं नेकपाका नेता खनालले भन्नुभयो– “नेकपाको सरकार बनेपछि लोडसेडिङ्ग अन्त्य भएको छ, नेकपाको नेतृत्वको युग सुरु भएपछि उज्यालोको युग सुरु भएको छ ।”
सुखी नेपाली समृद्धि नेपाल बनाउन र हरिशरण लामिछानेको सपना साकार पार्न नेकपाले डिपी ढकाललाई उम्मेदवार बनाएको उहाँले बताउनुभयो । नेकपाले राष्ट्रिय सहमति निर्माण गरेर अगाडि बढेको बताउदै उहाँले नेकपा नभएको भए राष्ट्रिय सहमति कायम हुनै नसक्ने दाबी समेत गर्नुभयो ।
आफ्नै देशमा उत्पादनको क्षमता हुदाहुदै पनि अरु देशबाट आयात गरिएका गोलभेडा, प्याज, फलफूल खाईरहनु परेको बताउदै उहाँले वर्तमान सरकारले यस्तो विदेशमुखी अबस्थाको अन्त्य गर्दै उत्पादनमुखी नीति लिएको भनाई उहाँले राख्नुभयो ।
नेकपाले देशलाई विकास, समृद्धितर्फ अगाडि लैजादै परिवर्तनको सुरुवात गरेको धारणा राख्दै उहाँले प्रत्येक जिल्लाको गाउँ गाउँसम्म पक्कि सडक पुर्याएर सडक सञ्जालदेखि भौतिक पूर्वाधार निर्माण गरिरहेका बताउनुभयो ।
कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य एवं पूर्व पर्यटनमन्त्री आनन्द पोखरेलले नेपालको राष्ट्रियताको सुदृढिकरण गर्ने, पार्टी एकिकरणलाई तल्लो तहसम्म पुरा गर्ने र देशलाई आर्थिक समृद्ध पुरा गर्ने जिम्मेवारी नेकपाको सरकारले पुरा गर्ने बताउनुभयो ।
कार्यक्रममा सांसद एवं पूर्व उद्योगमन्त्री महेश बस्नेतले नेकपाको सरकार र नेकपाको स्थानीय तह आएपछि चाँगुनारायण नगरपालिकाले विकासमा फड्को मारेको बताउनुभयो ।
नेकपाका केन्द्रीय सदस्य, युवा संघका केन्द्रीय ईन्चार्ज समेत रहनु भएका सांसद बस्नेतले नेकपा कै पहलमा चाँगुनारायणमा बीर अस्पताल आएको, २० औ करोड रुपैया सडक र खानेपानीको क्षेत्रमा आएको, नगरपालिकाले पनि प्रत्येक वडामा करोडौको योजना विस्तार गरेको बताउदै अबको तीन वर्षमा समृद्ध चाँगुनारायण बन्ने बताउनुभयो ।
उहाँले राष्ट्र, राष्ट्रियता र राष्ट्रिय स्वाधीनताको लागि नेकपाको अर्को कुनै विकल्प नभएको चर्चा गर्दै प्रदेशको बजेट समेत ल्याएर चाँगुक्षेत्रको विकास गर्न डिपीलाई उम्मेदवार बनाएको भनाई राख्नुभयो ।
कार्यक्रममा नेकपाका ३ नं. प्रदेश सचिव एवं सांसद रामेश्वर फँुयाल, केन्द्रीय सदस्य एवं चाँगुनारायणका नगर प्रमुख सोम मिश्र, नेकपा भक्तपुर ईन्चार्ज एवं केन्द्रीय सदस्य दीलिप प्रजापति, सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा, नेकपा जिल्ला अध्यक्ष बचन देउजा लगायत नेताहरु समेत जनताको घरघरमा पुगेर नेकपालाई मतदान गर्न आग्रह गर्नुभयो ।










प्रतिक्रिया दिनुहोस्