राजनीति

कांग्रेसले राप्रपाको बैसाकी टेकेर भोट बढाउँछु भन्ने नसोचे हुन्छ : सांसद बस्नेत



भक्तपुर, ४ मंसिर । नेकपा कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले प्रमख प्रतिपक्षी दल नेपाली कांग्रेसमा भोट हाल्नु भनेको हलुवामा बालुवा हालेजस्तो मात्र भएको उद्घोष गर्नुभएको छ ।

आगामी मंसिर १४ गते हुन गईरहेको उपनिर्वाचनको संघारमा रहेको भक्तपुर क्षेत्र नं. १ (क)मा नेकपाका उममेदवार डिपी ढकाललाई विजयी गराउन चाँगुनारायण नगरपालिका वडा नं. ६ नगरकोटमा निर्वाचन परिचालन कमिटीको आयोजनामा भएको चुनावी घरदैलो कार्यक्रममा बोल्दै सांसद बस्नेतले भक्तपुरको विकास र समृद्धिमा नेकपाले हलुवामा चिनी तथा मह मिसाउने कार्य गरिरहको उल्लेख गर्दै कांग्रेसले झुटको खेतीमा रमाइरहेको बताउनुभयो ।

कुम्भकर्ण र र कांग्रेस उस्तै रहेको उल्लेख गर्दै उहाँले कांग्रेस जनताको माझमा पाँच वर्षमा एक पटक चुनामा मात्र आउने र जनताको तिव्र विकास प्रतिको चाहनामा कुठाराघात गर्ने गरेको सविस्तार उल्लेख गर्नुभयो ।

कांग्रेसले राप्रपाको बैसाकी टेकेर नगरकोटमा भोट बढाउँछु भन्ने सोचेको छ भने त्यो सपना पुरा हुन नसक्ने उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘नगरकोटमा विगतमा कांग्रेसले १८२ भोट ल्याएको र आगामी निर्वाचनमा १८३ मत ल्याए विजयी हुने कांग्रेसले उद्घोष गरेको छ । आज कांग्रेसका युवा नेकपामा प्रवेश गरेसँग अब क्याल्कुलेटरले हिसाव गरे हुन्छ । कति भोट आउँछ भनेर । यहि गतिमा अघि बढ्ने हो भने नगरकोटमा कांग्रेसलाई खोज्दा भेट्न समेत गाह्रो हुने अवस्था आउन सक्छ ।’

जनताको त्याग, तपस्या र बलिदानी पूर्ण सफलतालाई संस्थागत गर्न नेकपाका उम्मेदवार ढकाललाई विजयी गराउनुपर्नेमा जोड दिँदै उहाँले राजनीतिमा भ्रष्टिकरण, दलालीकरण, अपराधिकरणको विरुद्ध शसक्त भूमिका निर्वाह गर्ने एउटै पार्टी नेकपामा मात्र रहेको उल्लेख गर्नुभयो ।
डिपी ढकालनै स्व. हरिशरण लामिछानेको उत्तराधिकारीको रुपमा नेकपाले प्रस्तुत गरेको बताउँदै उहाँले नेकपाको उम्मेदवार ढकालको नेतृत्वमा नै नगरकोटलाई संसारकै उत्कृष्ट ठाउँको रुपमा विकास गराउने संकल्प पुरा गरेरै छोड्ने प्रतिवद्धता जनाउनुभयो ।

कांग्रेसको नेतृत्वमा बनेको सरकारको समयमा विकास भन्दा पनि राज्यको ठूलो आर्थिक अवस्था विनास भएको बताउँदै उहाँले भक्तपुर नगरकोट सडक कांग्रेसकै नेतृत्वको समयमा लथालिङ्ग भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘६ वर्षमा ६ वटा प्रधानमन्त्री फेरिए तर भक्तपुर नगरकोट सडक निर्माण सम्पन्न हुन सकेको छैन । जसमा तीन पटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुनुभयो । उहाँले के हेरेर बस्नुभयो ? त्यसैले उक्त सडक नबन्नुको ५० प्रतिशत दोष कांग्रेसले लिनुपर्छ । नेकपाले १० – १५ प्रतिशत जिम्मा लिनु पर्ला । त्यसमा अहिले तिव्र गतिका साथ निर्माण कार्य भइरहेको छ । जुन निर्माण कार्यले नेकपाले व्यहोर्नु पर्ने करिव १५ प्रतिशत दोष पुरा गरी निर्माणलाई व्यापक मात्रामा तिव्रता दिएको छ र निकट भविष्यमा नै निर्माण कार्यलाई सम्पन्न गराउँछौं । यदी ठेगदारले पुनः बदमासी गरे कानुनी बाटो अवलम्बन गर्छौ ।’

नेकपाको सरकार बनेसँग उक्त सडकको काम भटाभट हुन थालेको जसको लागि संघर्ष समितिले समेत विशेष साथ दिएको उल्लेख गर्दै तेलकोट बाट नगरकोट आउने बैकल्पीक सडक निर्माण गरेको जसको नाम हरिशरण गुरु मार्ग राहिएको बताउनुभयो । नगरकोटमा पार्क, भ्यु टावर निर्माणको क्रममा रहेको समेत उहाँले जानकारी गराउनुभयो ।

उक्त कार्यक्रममा नेपाली कांग्रेस तथा राष्ट्रिय प्रजातान्त्रीक पार्टी (राप्रपा)बाट करिव ५० जनाभन्दा बढी युवाहरु नेकपामा प्रवशे गरेका छन् । नेकपामा प्रवेश गर्नेहरुमा सिजन लामा, राजु तामाङ, कालेबहादुर तामाङ, समिर तामाङ, सञ्जोग तामाङ, प्रकाश तामाङ, सिमसिम तामाङ, सन्तविर तामाङ, बुद्धिमान तामाङ, कालुसिं तामाङ, राजकुमार लामालगायतका युवा नेकपामा प्रवेश गरेका छन् ।