समाचार

थाइल्यान्डले पनि भिसामा हेप्न थाल्याे नेपालीलाई



काठमाडौँ, ६ मंसिर । पुरानो मित्र मुलुक थाइल्यान्डले शक्तिशाली मुलुकको नक्कल गरी नेपालीलाई प्रवेशाज्ञा (भिसा) दिन कडाइ गरेको छ । भिसाका लागि थाइल्यान्डले नेपालीसँग कम्तीमा १ लाख रुपैयाँ मौज्दात भएको बैंक विवरण, नाता प्रमाणितको अंग्रेजी अनुवाद, उताको होटल बुक गरेको कागज र भिसा शुल्क तीन हजार ६ सय रुपैयाँ तिरेको भौचरसहित उपस्थित हुनुपर्ने सर्त राखेको छ । यो सर्त तीन महिनाको एकल प्रवेशका लागि हो ।

उसले व्यावसायिक भिसामा पनि नयाँ प्रावधान थपेको छ । किन बहुप्रवेश दिँदैन ? यसबारे सोच्ने फुर्सद न परराष्ट्र मन्त्रालयलाई छ न त बैंककस्थित नेपाली दूतावासलाई । सरकारी निकायका अधिकारीलाई भिसा समस्या पर्दैन । परराष्ट्रमन्त्री वा सचिवस्तरीय वार्ता हुनेबित्तिकै ती मुलुकमा कूटनीतिक र कर्मचारी तहको राहदानीलाई ‘अनअराइभल भिसा’को निर्णय हुन्छ । भिसा अनअराइभल भनेर प्रचार पनि गरिदिन्छन् । वास्ताविकता भने फरक छ ।

‘सर्वसाधारणको पासपोर्टबारे सोच्ने फुर्सद नभएकै हो । सबैले आफ्नो सहजता हेर्ने रहेछन्’, परराष्ट्रका एक अधिकारीले भने, ‘यस्ता विषय दूतावासले पनि उठाउनुपर्ने हो ।’

अन्य मुलुकसँगको अवस्था पनि त्यस्तै छ । नेपालले सार्क मुलुक (अफगानिस्तान बाहेक) र अर्को छिमेकी चीनलाई पर्यटन बढाउन भन्दै भिसा शुल्क नलिईकन अनअराइभल भिसा दिने गरेको छ । तर, ती मुलुकले नेपाललाई उल्टो व्यवहार गर्दै आएका छन् । अझ चीनले आफ्नै निम्तामा बोलाएकासँग पनि भिसा शुल्क लिन्छ । यो खबर आजको अन्नपूर्ण पाेस्टमा छ ।