समाचार

घरमै गएर खुकुरी प्रहार गरी हत्या गरेका थापामाथि जन्मकैदको फैसला



काठमाडौँ, ६ मंसिर । पत्नीसँग अनैतिक सम्बध राखेको भन्दै घरमै गएर खुकुरी प्रहार गरी हत्या गरेका सञ्जीतकुमार थापालाई जिल्ला अदालत ओखलढुङ्गाले जन्मकैदको फैसला सुनाएको छ ।

बिहीबार जिल्ला न्यायाधीश दलबहादुर केसीको इजलासले दाङको भालुवाङका ३७ वर्षीय सञ्जीतकुमार थापाले मोलुङ गाउँपालिका–३ का २७ वर्षीय सन्तोष कार्कीलाई हत्या गरेको ठहर गर्दै उक्त फैसला गरेको हो ।

दुबई प्रहरीमा कार्यरत थापाले आफ्नी पत्नीसँग अनैतिक सम्बध राखेको भन्दै ०७५ साल भदौ ५ गते अपराह्न ४ बजे मोलुङ गाउँपालिका–३ स्थित कार्कीकै घरमा गएर खुकुरी प्रहार गरी उनलाई हत्या गरेका थिए ।

कार्कीको खुकुरी प्रहारबाट शरीरभरि चोट लागेको र अत्यधिक रगत बगेको अवस्थामा घरभित्रै शव फेला परेको थियो । हत्या गरेर भागेका आरोपितलाई प्रहरीले ०७५ साल भदौ १२ गते निजकै घरछेउ दाङको भालुवाङबाट पक्राउ गरेको थियो । भदौ १३ गते ओखलढुङ्गा प्रहरीले बुझेर १४ गते कर्तव्य ज्यान मुद्दा दर्ता गरेको थियो ।

अनुसन्धानका क्रममा थापाले अभियोग स्वीकार गरेका थिए भने आवेशमा हत्या गरेको बयान दिएका थिए ।