कास्की, ८ मंसिर । सूचना तथा संचार मन्त्री गोकुलप्रसाद बाँस्कोटाले अन्तरराष्ट्रिय मान्यताका आधारमा छिमेकी भारतसँगको सिमाना विवाद कूटनीतिक र राजनीतिक प्रयासबाट समाधान गरिने बताएका छन् ।
आज पोखरामा नेपाल पत्रकार महासङ्घ कास्कीले आयोजन गरेको पत्रकार भेटघाटमा बोल्दै मन्त्री बाँस्कोटाले लिम्पियाधुरा, लिपुलेक र कालापानीका साथै सुस्तालगायत नेपालको भूमि रक्षाका लागि सरकारले दृढता र इमान्दारीसाथ पहल गरिरहेको र सरकारले ‘कूटनीतिक नोट’समेत पठाइसकिएको बताएका हुन् ।
उनले भने, हामीलाई अर्काको एक इन्च जमीन नचाहिएको र हाम्रा पुर्खाले जोगाएको जमीनमाथि अतिक्रमण स्वीकार्य छैन । वि.सं १८१६ मा इष्ट इन्डिया कम्पनीसँग भएको सम्झौताका नक्शा, तथ्य, प्रमाणका आधारका साथै ती भूमिहरुमा नेपालले गरेको जनगणना र कर कार्यालय लगायतका प्रमाणको आधारमा दृढताका साथ वार्ता गरिनेछ ।’
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले शनिबार पोखरामा आयोजित सभामा प्रधानमन्त्री केपी शर्मा ओलीको सहमतिमा भारतले नक्शा सार्वजनिक गरेको भन्ने अभिव्यक्तिको सन्दर्भमा पत्रकारको जिज्ञासामा मन्त्री बाँस्कोटाले भने, ‘प्रतिपक्षी दलको नेता भएर त्यस्तो बोल्नुभएको विषयमा मलाई विश्वास छैन तर यदि बोल्नुभएको छ भने राष्ट्रवादी प्रधानमन्त्रीमाथि प्रश्न उठाउनु लज्जाजनक हो, म खेद प्रकट गर्दछु ।’
उनले ६० वर्षभन्दा पुरानो सिमाना विवादका विषयमा पहिलो पटक प्रधानमन्त्रीका रुपमा ओेलीले नै दृढतापूर्वक आवाज उठाएको उल्लेख गर्दै मन्त्री बाँस्कोटाले प्रधानमन्त्रीका रुपमा मनमोहन अधिकारी भारत पुग्दा सन् १९५० को सन्धिमाथि पुनः विचार हुनुपर्छ भनेर बोल्ने पार्टीका नेताको विषयमा आरोप लगाउनु गलत भएको जनाए ।










प्रतिक्रिया दिनुहोस्