समाचार

पाटे बाघको छालासहित ६ जना पक्राउ



धादिङ,  ९ मंसिर । धादिङमा पाटे बाघको छालासहित ६ जना पक्राउ परेका छन् ।

पृथ्वीलोकमार्गस्थित गजुरी गाउँपालिका-२, चालिसेबाट धादिङ प्रहरीले एक थान पाटे बाघको छालासहित धादिङ जिल्लाको गजुरी गाउँपालिका-३ बस्ने ३८ वर्षीय भाइराम प्रजा, सोही स्थान बस्ने ३४ वर्षीय राजेन्द्र तामाङ, २१ वर्षीय ज्ञानबहादुर बिक, गजुरी गाउँपालिका-४ बस्ने २५ वर्षीय आशिष तामाङ, बेनीघाट रोराङ गाउँपालिका-२ बस्ने ५७ वर्षीय सन्त तामाङ र बेनीघाट रोराङ गाउँपालिका-३ बस्ने २१ वर्षीय राजकुमार तामाङलाई पक्राऊ गरेको हो ।

चालिसेको वालसिङ भन्ने ठाउँमा प्रहरीले खानतलासी गर्दा बा.१८ प ९६९३ नम्बरको मोटरसाइकल चालक भाइराम प्रजा र सो मोटरसाइकलको पछाडि सवार राजेन्द्र तामाङले बोकेको जेब्रा झोलाभित्र बोरामा लुकाइछिपाई रोखेको अवस्थामा १ थान बाघको उनीहरूको साथबाट ७ फिट २ इन्च लम्बाई, १ फिट ३ इन्च चौडाई भएको पाटे बाघको छाला १ थान, मोबाइल फोन ६ थान, बा.१८ प ९६९३, ग.७ प ५९६३ र ग.६ प १३४५ नम्बरको तीन थान मोटरसाइकल गरिएको जिल्ला पहरी कार्यालय धादिङले जनाएको छ ।

उनीहरूलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनबमोजिम थप अनुसन्धान तथा कारबाहीको लागि डिभिजन वन कार्यालय धादिङ पठाएको प्रहरीले जानकारी दिएको छ ।