काठमाडौँ, १३ मंसिर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईबाहेक सबै मन्त्रीहरु ऋणमा देखिएका छन् । गत वर्ष मन्त्रीहरुको सम्पत्ति विवरण खुलाउन आनाकानी गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले यसपालि सार्वजनिक गरेको छ । गतवर्षजस्तै यो वर्ष पनि चारै जना मन्त्रीले आफूहरु ऋणमा रहेको देखाएका हुन् ।
प्रदेश सरकारको ढुकुटी सञ्चालन गर्ने आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बो २ करोड ७१ लाख ऋणमा छन् । उनले नेपाल इन्भेस्टमेन्ट बैंकबाट २ करोड ५१ लाख र कुमारी बैंकबाट २० लाख रुपैयाँ व्यवसायका लागि ऋण लिएको उल्लेख गरेका छन् । सामाजिक विकासमन्त्री जीवन घिमिरेले बैंक अफ काठमान्डुबाट १ करोड १८ लाख ५५ हजार र एक्सल बैंकबाट ४ लाख ३२ हजार गरी १ करोड २२ लाख ८७ हजार रुपैयाँ ऋण लिएको विवरण गत वर्ष पेस गरेका थिए । एक वर्षमा उनले एक्सल बैंकबाट लिएको ४ लाख ३२ हजार रकम ऋण घटाएको उल्लेख गरेका छन् ।
उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियत पनि १८ लाख रुपैयाँ ऋणमा छन् । उनले गत वर्ष ज्योति विकास बैंकमा ६३ लाख र विजेन्द्र श्रेष्ठलाई १० लाख रुपैयाँ ऋण तिर्न बाँकी देखाएका थिए । उनले एक वर्षमा विजेन्द्र श्रेष्ठको १० लाख र ज्योति विकास बैंकको ६३ लाखमध्ये ४५ लाख ऋण चुक्ता भएको विवरण पेस गरेका छन् । त्यसअनुसार उनले एक वर्षमा ५५ लाख रुपैयाँ सम्पत्ति थप गरेको देखिन्छ ।
आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले गत वर्षझैं यो वर्ष पनि सम्भावी सहकारी बानेश्वरमा ३ लाख रुपैयाँ ऋण रहेको विवरण पेस गरेका छन् । सेयर लगानी र सम्पत्तिका हिसाबले गत वर्ष सबैभन्दा धनीदेखिएका सामाजिक विकासमन्त्री घिमिरे यो वर्ष पनि अगाडि देखिएका छन् । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।
प्रतिक्रिया दिनुहोस्