राजनीति

चितवनका तीनवटै वडामा नेपाली कांग्रेस विजयी



चितवन, १५ मंसिर । भरतपुर महानगरपालिका – १६ मा नेपाली कांग्रेसले नतिजा उल्टयाएसँगै चितवनका तीनवटै वडामा भएको उपनिर्वाचनमा नेपाली कांग्रेसले नै बाजी मारेको छ ।

चितवनका दुई पालिकाका तीन वडामा भएको उपनिर्वाचन अन्तरगत खैरहनी- ५ मा नेपाली कांग्रेसकी प्रतिमा कार्की बस्नेत, खैरहनी- ४ मा देवबहादुर बस्नेत र भरतपुर- १६ मा कांग्रेसकै अमृतराज हमाल विजयी भएका हुन् ।

भरतपुर- १६ मा अमृत हमाल ३ हजार १८३ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी नेकपाका उम्मेदवार भक्तराज हमाले २ हजार ८७५ मत ल्याएका थिए । यसअघि उत्त वडामा तत्कालीन नेकपा एमालेका चतुरमान गुरुङ निर्वाचित भएका थिए ।

यसैबीच खैरहनीको वडा नम्बर- ४ मा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार वेदबहादुर अधिकारीलाई १५२ मतान्तरले पराजित गर्दै कांग्रेसका उम्मेदवार देवबहादुर बस्नेत विजयी भएका छन् । सोही वडा नम्बर- ५ मा कांग्रेसका उम्मेदवार प्रतिमा कार्कीले नेकपाका उम्मेदवार पुननारायण प्रधानलाई ८६ मतअन्तरले पराजित गरेकी हुन् । यी दुवै वडामा यसअघि पनि कांग्रेकै विजय थियो ।