राजनीति

राजनीति म्याराथन धावकले डौडिने दौड जस्तै हो : सांसद बस्नेत



भक्तपुर, १६ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले वर्तमान सरकार विकास र समृद्धिको पक्षमा दृढ रहेको बताउँदै यो वा त्यो बहानामा बाँस झै हावा चल्दा यता र उता नहुने उद्घोष गर्नुभएको छ ।

आज भएको सूर्यबिनायक नगरपालिका वडा नं ४ अनन्तलिङ्गको कैलाश डाँडामा प्रदेश नम्बर ३ भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत शहरी विकास तथा भवन कार्यालयबाट विनियोजित रु १ करोडको लागतमा तिन तले भ्यूटावर सहितको बहुआयामिक सामुदायिक भवनको शिलान्यास कार्यक्रममा बोल्दै उहाँले निर्वाचन भनेको ठूलो म्याराथन धावकले दौडिने दौड जस्तै भएको बताउँदै राजनीति गर्नेहरुका निम्ति निर्वाचन हारजित मूल कुरा नभएको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘राजनीतिमा जनताको सुख र समृद्धिका निम्ति जो निरन्तर रुपमा लाग्दछ, उसलाई जनताले जिताउने बताउँदै राजनीति गर्ने सबैको मुलुकको समृद्धि र जनताको सुखमा केन्द्रित हुनुपर्छ । निर्वाचन प्रक्रिया भनेको जनताले आफ्नो मत प्रकट गर्ने प्रणाली भएकाले कुनै एउटा परिणामलाई आधार मानेर यस्तो गन्तव्यमा पुगियो भनेर जित्ने र हार्ने दुवैले ठान्न हुँदैन । हामीले राजनीतिमा प्रतिस्पर्धा, विकासमा ऐक्यबद्धता भन्ने नारा अगाडि सारेका छौं । म कृष्ण भँडेल जीलाई बधाई दिन चाहन्छु, समग्र भक्तपुरको विकासको जुन मार्ग हामीले अगाडि सारेका छौं, त्यसमा उहाँलाई सहकार्य गर्न म अनुरोध गर्दछु । हामी सबैको एउटै उद्देश्य भनेको भक्तपुरको समृद्धि र विकास नै हो ।’

भक्तपुरको विकसामा विपन्नताको पहिचानबाट सम्पन्नताको बाटोमा अघि बढाएको उल्लेख गर्दै उहाँले साँगा–आनन्तलिङ्गेश्वरसम्म ग्रमीण पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने प्रतिवद्धता जनाउँदै होम स्टे, औद्योगीक, इको भिलोज बन्ने क्रममा काम अघि बढेको जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, ‘यहाँबाट प्राकृतिक सुन्दरता र आधुनिक शहरीकरणको दृश्य अवलोकन गर्न सकिन्छ । स्थानीय उत्पादन, यहाँको मौलिकता र प्राकृतिक सौन्दर्यतालाई प्रबद्र्धन गर्दै यस क्षेत्रलाई ग्रामीण पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न आफूहरुले योजनाबद्ध कार्यक्रमहरु अगाडि सारेको छौं । जसले गर्दा भक्तपुरको जनताको आर्थिक सुदृढ तथा रोजगारीको असंख्य बाटोहरु खुल्ला हुनेछ । घ्याम्पे डाँडादेखि अनन्तलिङ डाँडालाई ग्रामीण पर्यटनको विकास गर्न विविध कार्यक्रहरु अहिले अगाडि बढिरहेको छ ।’

जनताको क्रियासिलता नै विकासको आधार भएको उल्लेख गर्दै पूर्वउद्यागमन्त्री समेत रहनुभएका सांसद बस्नेतले तर्खालबाट अनन्तलिङसम्मको सडक निर्माणको प्रकृयामा अघि बढेको जानकारी गराउनुभयो । त्यस्तै अनन्तलिङ्गबाट राप्ती भञ्ज्याङसम्म ४० करोडको लागतमा सडक निर्माण भइरहेको तथा चुनदेवीबाट काटुञ्जे–गुण्डु तर्खाल, सिरुटारहुँदै अनन्तलिङ्गसम्म नयाँ सडकको डिपीआरको कार्य भइरहेको समेत जानकारी गराउनुभयो ।

भक्तपुरमा अध्ययन भ्रमणको गन्तव्यको रुपमा विकास गर्ने गरी विभिन्न योजनाहरु अघि बढाएको जानकारी गराउँदै भक्तपुरमा फुलले स्वागतले पर्यटकलाई स्वागत गरी उत्पादनको साथमा आर्थिक उन्नतीको कार्यमा अघि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘विगतमा धनीले खाना खाने गरिवले ढिँडो खाने दिनको अन्त्य भई धनिले ढिँडो गरीवले खाना खाने समयम आयो ।’