राजनीति

इज्जत भन्दा धनलाई महत्व दिँदा भ्रष्टाचार बढ्यो : मुख्यमन्त्री पोखरेल



रुपन्देही, १८ मंसिर । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले समाजमा इज्जतभन्दा धनलाई महत्व दिने प्रचलन बढेकाले भ्रष्टाचार नियन्त्रणमा कठिनाइ भएको बताउनुभयो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुटवलमा आयोजना गरेको ‘भ्रष्टाचार नियन्त्रण एवं सुशासन प्रवद्र्धनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रदेश सरकारको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले उजुरी पर्नु नै भ्रष्टाचार हो भन्ने भ्रम चिर्न त्यसलाई प्राथमिकीकरण गरेर अनुसन्धान गरिनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “कामलाई असर पर्ने हिसाबले अनुसन्धान प्रक्रिया अगाडि बढ्नु हुँदैन । बीचमा काम रोकिँदा त्यो आयोजनाले धेरै क्षति बेहोर्नुपर्छ, यसतर्फ आयोगको ध्यान जानुपर्छ । नियोजित ढङ्गले पनि भ्रष्टाचारको उजुरी पर्ने गरेका छन्, उजुरीको सङ्ख्या बढ्दैमा समस्या होइन, यसलाई नै आधार बनाएर चर्चा गर्न हुँदैन । उजुरी र फछ्र्यौटसँगै कति कारवाहीमा परे त्यो मुख्य कुरा हो ।”

मुख्यमन्त्री पोखरेलले अख्तियारको नेतृत्वप्रति विश्वास बढ्दै गएको बताउँदै सुशासन र भ्रष्टाचार नियन्त्रणमा अख्तियारको भूमिका प्रभावकारी हुनुपर्ने धारणा राख्नुभयो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले आयोगमा वर्षमा झण्डै २५ हजार उजुरी पर्ने गरेको जानकारी गराउँदै उहाँले पछिल्लो चार महिनामा १६८ मुद्दा अदालतमा गएको जानकारी गराउनुभयो ।

आयोगले प्रस्तुत गरेको तथ्याङ्कअनुसार प्रदेश ५ मा सबैभन्दा धेरै वन तथा वातावरण क्षेत्रका ७८ वटा उजुरी परेका छन् । ती मध्ये ६३ वटा फछ्र्यौट भएका छन् । त्यस्तै स्वास्थ्यमा ४५, भौतिक पूर्वाधार र यातायातमा २६, कृषि तथा पशुपक्षी विकासमा १६, सिँचाइमा १४, पर्यटन, उद्योग, वाणिज्य र आपूर्तिमा १३, खानेपानी र शहरी विकासमा आठ र आन्तरिक मामिला तथा कानून मन्त्रालयका चारवटा उजुरी परेका छन् ।