राजनीति

राज्यको आवश्यकता र जनताको मनोविज्ञानबीच तालमेल हुन जरुरी : मुख्यमन्त्री पोखरेल



काठमाडौँ, २० मंसिर । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले विकास र समृद्धिका लागि राज्यको आवश्यकता र जनताको मनोविज्ञानबीच तालमेल हुन अपरिहार्य रहेको औल्याउनुभयो ।

‘आर्थिक समृद्धि र राजनीतिक दल’ विषयक आयोजित कार्यक्रममा उहाँले विकास र समृद्धिकाबारे अहिलेसम्म राजनीतिक दलको मनोविज्ञान तयार भइनसकेको अवस्था रहेको बताउनुभयो । जनता र राजनीतिक दलका कार्यकर्तालाई व्यवस्था परिवर्तनका लागि लामो समयसम्म राज्यविरुद्ध उतार्ने काम गरिएको हुँदा राज्य बनाउने मनोविज्ञानमा रूपान्तरण गर्न चुनौती भइरहेको धारणा व्यक्त गर्नुभयो ।

मुख्यमन्त्री पोखरेलले भन्नुभयो, “हामीले राज्य निर्माणको शिक्षा पर्याप्त दिन सकेका छैनौँ । राज्यको शक्तिका रूपमा रहेका जनता र कार्यकर्तालाई विगतमा राज्यविरुद्ध परिचालन गरिएको हुँदा अहिले राज्यको आवश्यकता र जनताको मनोविज्ञानबीच तालमेल हुन सकेको छैन । तालमेल हुन जरुरी छ।”

पर्यटन र जलस्रोतका साथै कृषिका माध्यमबाट आयात प्रतिस्थापन गर्ने उद्योग स्थापनामा जोड दिँदै उहाँले प्रदेशको समृद्धिका लागि काठमाडौँकै जस्तो कम्तीमा पनि एक–एक वटा स्वास्थ्य र शिक्षाका गुणस्तरीय पूर्वाधार निर्माण आवश्यक रहेको बताउनुभयो ।