राजनीति

आइजीपी खनालद्वारा लैङ्गिक हिंसाबिरुद्धको अभियानका अभियन्तासँग भिडियो कन्फ्रेन्सबाट अन्तरक्रिया



काठमाडौँ, २० मंसिर । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी प्रधान कार्यालयबाट बिहीबार भिडियो कन्फ्रेन्स गरी १ नम्बर र २ नम्बर प्रदेश प्रहरी कार्यालय अन्तर्गत १८ वटा जिल्ला प्रहरी कार्यालयका प्रमुखहरु तथा लैङ्गिक हिंसाबिरुद्धको १६ दिने अभियानका अभियन्ताहरुसँग अन्तरक्रिया गर्नुभएको छ ।

उक्त अभियान अन्तर्गत विभिन्न जिल्लाहरुमा संचालन भइरहेका जनचेतनामूलक कार्यक्रमहरुलाई थप प्रभावकारी रुपमा कार्यान्वयन गर्न प्रहरी महानिरीक्षक खनालले उहाँहरुसँग अन्तरक्रिया गर्नुभएको हो ।

अन्तरक्रियाको क्रममा प्रहरी महानिरीक्षक खनालले अभियानलाई थप प्रभावकारी रुपमा संचालन गर्न अन्तरक्रियामा सहभागि जिल्लास्थित विभिन्न महिला सञ्जालका अध्यक्ष तथा पदाधिकारीहरुले दिएको सुझावलाई कार्यान्वयन गर्न आपसी समन्वय गरी अगाडि बढ्ने बताउनुभयो ।

साथै जिल्लाको शान्ति सुरक्षाको अवस्था तथा सम्बन्धित कामहरुबारे सम्बन्धित जिल्ला प्रहरी कार्यालयका प्रमुखहरुसँग जानकारी लिँदै उहाँले महिला संजालको भूमिकालाई समुदाय(प्रहरी साझेदारी कार्यक्रमको अवधारणासँग जोडेर समाजमा हुने लैङ्गिक हिंसाका घटनालाई शून्य सहनशीलता विधिको माध्यमद्वारा निस्तेज गर्न निरन्तर अभियानकै रुपमा अघि बढ्न एवं त्यसलाई थप प्रभावकारी बनाउन विशेष पहल गर्नुपर्नेमा जोड दिनुभयो ।