चितवन, २४ मंसिर । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश ३ सरकारले कृषि र पर्यटनबाट मुलुकमा सम्वृद्धि आउन सक्ने भएकोले यी दुई बिषयलाई प्राथमिकतामा राखेको बताएका छन् ।
आज पश्चिम चितवनको मेघौलीमा बन्ने राइनो पार्कको शिलान्यास गर्दै मुख्यमन्त्री पौडेलले २१ महिनाको अवधिमा प्रदेश सरकारले हरेक जिल्लामा विकास निर्माणमा उपस्थिति जनाएको बताए । उनले कानून बनाउनेदेखि विभिन्न नीतिगत काममा प्रदेश सरकारले केही समय खर्चिएको भए पनि अब भने देखिने गतिमा काम अघि बढेको बताए ।
उनले भने, ‘चितवनमा कृषि र पर्यटन दुवैको प्रचुर सम्भावना छ, सोही अनुसार प्रदेश सरकारले पनि लगानी गरिरहेको छ ।’ राइनोपार्कमा ४० फिट लम्वाइ र ३९ फिट चौडाइ भएको गैंडाको प्रतिमा बनाउने तयारी छ । दुई तलामा रहने प्रतिमा पहिलो तलामा पर्यटक सूचना केन्द्र र दोस्रो तलामा संग्राहलय बनाउने योजना छ ।










प्रतिक्रिया दिनुहोस्