काठमाडौँ, २५ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एसियाली खेलकुदले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्नुभएको छ । साग गेमको समापन कार्यक्रममा आज भिडियो सन्देश दिँदै उहाँले उक्त कुरा उल्लेख गर्नुभएको हो ।
यस्तो छ प्रधानमन्त्रीको सम्बोधनको पूर्ण पाठ :
दक्षिण एसियाका लागि ‘मिनि ओलम्पिक’ मानिने दक्षिण एसियाली गेमको अत्यन्तै ठूलो महत्व छ । र, यो गेम आजैबाट अत्यन्तै सफलतापूर्वक सम्पन्न हुँदैछ । म खुशी व्यक्त गर्न चाहन्छु ।
भूकम्पबाट ध्वस्त भएका संरचनाहरू तयार गरेर खेल आयोजना गर्न सफलता मिलेको छ । यसवर्ष यसपल्टको खेलमा पहिलेभन्दा बढी खेलाडीहरूको सहभागिता, पहिलेभन्दा बढी खेलहरूको संलग्नता रहेको छ । र पदकहरू पनि यस पटकको १३ औंँ साग गेममा पहिलेभन्दा धेरै राखिएका छन् ।
समग्रतामा भन्दा एउटा सफल र ऐतिहासिक खेलकुदको रूपमा रहेको छ । दक्षिण एशियाली खेलकुदले दक्षिण एसियाली देश र जनताबीचमा एकता, मित्रता अभिवृद्धि गर्ने कुरालाई अपेक्षा गरिएको हुन्छ । त्यो अपेक्षा यस पटकको १३ औंँ दक्षिण एसियाली खेलकुदले अत्यन्तै सफलतापूर्वक पूरा गरेको छ । यस सन्दर्भमा म संलग्न सबै पक्षलाई सफल आयोजना र खेलका निम्ति बधाइ भन्न चाहन्छु, धन्यवाद भन्न चाहन्छु ।
काठमाडौँ, पोखरा र जनकपुरधामबाट एकैसाथ खेलकुदहरू सञ्चालन हुनु र सफलतापूर्वक समग्र दक्षिण एसियाली खेलकुदको सुखद समापनमा हामी आइपुग्नु ज्यादै खुशीको कुरा हो । यस सन्दर्भमा यस सफलताका लागि योगदान गर्नुहुने नेपाल लगायत सबै सहभागी देशका सरकारहरू, खेलाडीहरू, प्रशिक्षकहरू सबैलाई पनि म धन्यवाद भन्न चाहन्छु ।
अत्यन्तै भव्य रूपमा सफल भएको यस दक्षिण एसियाली खेलकुदले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन योगदान पुर्याउनेछ भन्ने मैले विश्वास लिएको छु । विभिन्न मित्र देशका यस खेलमा सहभागीहरूले खेलाडी, प्रशिक्षक सबैले भ्रमण वर्षलाई मद्दत पुग्ने गरी योगदान गर्नुहुनेछ भन्ने पनि मैले अपेक्षा गरेको छु ।
‘होस्ट कन्ट्री’का खेलाडीका हिसाबले खेललाई अनुशासित, मर्यादित र मैत्रीभावलाई केन्द्रभागमा राखेर जुन उत्कृष्ट प्रदर्शन नेपाली खेलाडीहरूले यस खेलमा गरेका छन्, म नेपाली खेलाडीहरूलाई त्यसका निम्ति हार्दिक धन्यवाद भन्न चाहन्छु । जुन सफलता प्राप्त गरेका छौँ, सबै सफलता प्राप्त गर्ने खेलाडीहरूलाई बधाइ भन्न चाहन्छु ।










प्रतिक्रिया दिनुहोस्