काठमाडौँ, २६ मंसिर । करिब एक महिनाअघिको कुरा हो । अछामका २१ बर्से पुरन तिमल्सिना साइबर अपराधमा समातिए । भारतमा बस्ने उनले आफ्नै गाउँकी एक युवतीको ‘फेक’ फेसबुक अकाउन्ट खोले । युवती र उनका बुवाको फोटोमा अश्लील फोटो जोडेर म्यासेन्जरमा युवतीका आफन्तलाई पठाउन थाले । काठमाडौंमा पढ्दै गरेकी युवतीलाई उनीमाथि शंका लागेपछि प्रहरीमा उजुरी गरिन् र तिमल्सिना समातिए ।
सामाजिक सञ्जाल दुरुपयोग गर्दा समातिनेमा काठमाडौंमै बस्दै आएका ३८ बर्से शिवहरि थापा पनि पर्छन् । फेसबुकमार्फत् उनको २० वर्षीया युवतीसँग चिनजान भयो । सम्बन्ध अघि बढ्दै गएपछि उनले युवतीसँग बिहेको प्रस्ताव राखे र भेट्न बोलाए। युवती संखुवासभादेखि काठमाडौं आइन् । बौद्धको होटलमा भेट भयो । सँगै बसेका केही तस्बिर मोबाइलमा खिचे । आफूभन्दा थापा १८ वर्ष जेठा भएको थाहा पाएपछि युवतीले सम्बन्ध अघि बढाउन चाहिनन् । थापा त्यसको प्रतिशोध लिन चाहन्थे । उनले युवतीको फेक फेसबुक आईडी बनाएर युवती सँगै बसेका तस्बिर पठाउन थाले । यस्तो गरेकोमा उनी अहिले कारागारमा छन् ।
कपिलवस्तुका २६ बर्से अकबर अलि मियाँले अपत्यारिलो साइबर अपराध गरे । सामान्य मजदुरी गर्ने उनले आमाको नामबाट सिमकार्ड किनेर एक महिलालाई राति १२ बजे फोन गरे । महिलाले चिन्न अस्विकार गरेपछि उक्त महिलाको टाउको अश्लील फोटोमा जोडेर म्यासेजमा पठाउँदा उनी समातिए । यो खबर आजको अन्नपूर्ण पाेस्टमा छ ।










प्रतिक्रिया दिनुहोस्