Banner News

आर्थिक वृद्धिदर संशोधन भएको छैन : अर्थमन्त्री खतिवडा



काठमाडौँ, २७ मंसिर । अर्थमन्त्री डा. युवराज खतिवडाले चालू आर्थिक वर्षको आर्थिक वृद्धिदरमा कुनै संशोधन नभएको स्पष्ट पार्नुभएको छ ।

अहिलेसम्म वृद्धिदर संशोधन गर्ने विषयमा कुनै पनि तयारी नभएको उहाँले जानकारी दिनुभएको हो । बिहीबार विश्व बैङ्कको ‘नेपाल डेभलपमेन्ट अपडेट’ प्रतिवेदन सार्वजनिक कार्यक्रममा उहाँले बाहिर हल्ला भएजस्तो आर्थिक वृद्धिदरको लक्ष्य कम नगरिएको उहाँले बताउनुभयो । ‘यसमा सबै स्पष्ट हुनुहोस् कि अहिलेसम्म वृद्धिदर संशोधन भएको छैन’ उहाँले भन्नुभयो, समीक्षापछि संसोधन भए औपचारिक रूपमै जानकारी दिन्छौँ ।

सरकारले चालू आर्थिक वर्षका लागि बजेटमार्फत साढे आठ प्रतिशत हाराहारीको वृद्धिदरको लक्ष्य राखेको छ । अर्थ मन्त्रालयले प्रकाशन गर्ने बुलेटिनमा गल्तीले ७.१ प्रतिशत वृद्धिदरको लक्ष्य उल्लेख हुँदा यसमा संशोधन भएको विषय बाहिर आएको थियो । यद्यपि त्यसलाई सच्याएर बजेट अनुसारकै वृद्धिदरको लक्ष्य राखिएको छ । यता विश्व बैङ्कले भने सन् २०१९ को नेपालको आर्थिक वृद्धिदर ७.१ प्रतिशत रहने जनाएको छ ।

नेपालसम्बन्धी उक्त प्रतिवेदनमा समग्रमा आर्थिक गतिविधि बढेकाले वृद्धिदर पनि उच्च नै रहने उल्लेख छ । खासगरी सेवा क्षेत्रमा भएको उल्लेख्य सुधारले वृद्धिदर उच्च राख्न सहयोग पु¥याएको विश्व बैङ्कले जनाएको छ । त्यस्तै प्रतिवेदनमा नेपालको आर्थिक वृद्धिदर सन् २०२० मा ६.४ र सन् २०२१ मा ६.५ प्रतिशत रहने प्रक्षेपण गरिएको छ । यो खबर आजको गाेरखापत्रमा छापिएको छ ।