भक्तपुर, २७ मङ्सिर । रमेश गिरी । पर्यटनवर्ष २०२० लाई सफल पार्न सूर्यविनायक नगरपालिका क्षेत्रमा पर्यर्टन प्रबद्र्धन गर्ने उदेश्यले निर्माण हुन लागेको जीप लाईनको आज शिलान्यास गरिएको छ ।
सूर्यविनायक नगरपालिका ७ घ्याम्पेडाँडा नयाँ गाउँमा घ्याम्पेडाँडा पर्यटन प्रवद्र्धन समिति तथा ताण्डब ईन्भेष्टमेन्ट प्रा.लि.ले निर्माण गर्न लागेको जीप लाईनको आज प्रतिनिधीसभा सांसद एवं पूर्व उद्योगमन्त्री महेश बस्नेतले घ्याम्पेडाँडा रानीकोटमा शिलान्यास गर्नु भएको हो ।
पर्यटन प्रबद्र्धन गर्ने उदेश्यले गुण्डु बसपार्कबाट नयाँ संचालनमा आएको पदमार्गबाट पदयात्रा गर्दै कार्यक्रम स्थलमा पुगेर जीप लाईनको शिलान्यास गरिएको हो ।
घ्याम्पेडाँडा रानीकोट गढी हावाघरबाट सुरु हुने जीप लाईन पाईलट बाबा आश्रम पछाडिको नयाँ गाउँसम्म जाने गरि निर्माण हुने भएको हो । रानीकोट गढी हावाघरमा एउटा पोल र पाईलटबाबा आश्रम पछाडि रहेको नयाँगाउँमा अर्को पोल राखेर तारको माध्यमबाट प्राकृतिक सौन्दर्य अवलोकन गर्दै यात्रा गर्ने गरि जीप लाईनको सुरु गर्न लागिएको हो ।
कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य समेत रहनु भएका सांसद बस्नेतले गुण्डुबाट घ्याम्पेडाँडा रानीकोटसम्मको ४५ मिनेटको पदयात्रामा पाथीभराको ताप्लेजुङ्ग, रसुवाको गोसाईकुण्ड र अन्नपूर्ण बेसक्याम्प गएजस्तै अनुभव हुने गरेको बताउनुभयो ।
“यहाँको पदयात्रामा चितुवा, मृग, बदेल, खरायो, कालिज लगायतका जंगली जनावर र पशुपंक्षीको अवलोकन गर्न सकिन्छ,”–सांसद बस्नेतले भन्नुभयो–“१ हजार ७४१ मिटरको उचाईमा पर्ने यस क्षेत्रबाट १७ वटा हिमश्रृखला र उपत्यकाका तीन वटै शहरको दृश्यावलोकन गर्न सकिन्छ, त्यसैले अब घ्याम्पेडाँडा रानीकोट क्षेत्र आन्तरिक तथा बाह्य पर्यटनको आकर्षक गन्तव्य बन्छ ।”
काठमाण्डौंबाट १९ किलोमिटरको दुरीमा पर्ने यस स्थानमा सूर्यविनायकबाट ७ किलोमिटरको यो बाटोमा पाँच करोडको लागतमा २ लेनको सडक कालोपत्र भईसकेको चर्चा गर्दै उहाँले यहाँको तामाङ्ग बस्तीको कला, संस्कृति र रहन सहनले अझ मनमोहक बनाउने दाबी गर्नुभयो ।
सांसद बस्नेतले भन्नुभयो–“हामी ललितपुरको बालकुमारीदेखि बालकोट, चित्रपुर, अनन्तलिङ्गेश्वर हुदै घ्याम्पेडाँडा रानीकोटसम्म करिब १३ किलोमिटर सडक बिस्तार गर्दैछौ, यसका लागि ४० करोडको टेण्डर भईसकेको छ, रानीकोटबाट काभ्रेको कुशादेवी जाने सडक पनि काभ्रेले बनाउदै छ, यसले यहाँको विकासमा थप मुहार फेर्नेछ ।”
सूर्यविनायक पाण्डुबजारबाट गुण्डु बसपार्क हुदै घ्याम्पेडाँडा जाने सडक पक्कि हुन लागेको बताउदै उहाँले यहाँ आउने उद्योगी तथा व्यावसायीलाई आकर्षित गर्न स्थानीय तहले संरचना निर्माणमा नक्सा पासदेखि बिभिन्न करमा समेत छुट दिनुपर्नेमा जोड दिनुभयो ।
उहाँले पर्यटन वर्ष २०२० लाई भव्य सफल बनाउन र यसक्षेत्रमा पर्यटकको आगमन बढाउन पदमार्ग सहित, प्याराग्लाईडिङ्ग, बन्जी जम्प, काक्राबारी ईको भिलेज, होमस्टे समेतको योजना अगाडि बढाएर काम सुरु भईसकेको भनाई राख्नुभयो ।
भक्तपुरमा उद्योगी व्यवसायीलाई निरुत्साहित गर्ने र संकिर्ण सोचाई भएका केही नेताहरुले विकासमा अबरोध पुर्याईरहेको बताउदै सांसद बस्नेतले भक्तपुर नगरपालिका तर्फ संकेत गर्दै भन्नुभयो–“यहाँका केही स्थानीय तहले पनि सार्वजनिक खरिद ऐन मिचेर उपभोक्ता मार्फत करोडौको निर्माण कार्य गरेर कार्यकर्ता पोस्ने काम गरिरहेका छन्, त्यस्ता नगरपालिकामा न त अख्तियार छिर्छ, न त राष्ट्रिय सर्तकता केन्द्र छिर्छ, न त पत्रकार नै छिर्ने आँट गर्छन् ।”
कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख सरिता कुँवर, वडा नं. ७ का वडा अध्यक्ष रबिन्द्र सापकोटा, समितिका संचालक यादव राई लगायतले घ्याम्पेडाँडा र रानीकोटको पर्यटन विकासमा सबै क्षेत्रबाट सहयोग र समन्वय हुने बताउनुभयो ।
कार्यक्रममा घ्याम्पेडाँडा पर्यटन प्रवद्र्धन समिति तथा ताण्डब ईन्भेष्टमेन्ट प्रा.लि.का अध्यक्ष रोमन शिलाकारले निजी क्षेत्रको ५ करोड रुपैयाको लागतमा जीप लाईन सुरु गर्न लागेको बताउदै आगामी तीन मिहनाभित्र संचालनमा ल्याउने बताउनुभयो ।
समितिका अर्का संचालक बिज्ञान राईले उपत्यका मै पहिलो पटक संचालन गर्न लागेको जिप लाईन आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षण बन्ने र यसले पर्यटन वर्ष २०२० लाई सफल पार्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो ।










प्रतिक्रिया दिनुहोस्