सप्तरी, २८ मंसिर । स्थानीय एक महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पक्राउ परेका सप्तरीको शम्भुनाथ नगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष लक्ष्मी साहको रिहाई माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रदर्शन गरेको छ ।
कांग्रेस जिल्ला कमिटी सप्तरीले शुक्रबार राजविराजमा प्रदर्शन गरेको छ । शम्भुनाथ नगरपालिका वडा नम्बर १२ का बासिन्दाहरुको सक्रियतामा नेपाली कांग्रेस सप्तरीले प्रदर्शन गरेको हो । पार्टी कार्यालयबाट निस्कएको जुलुसले वडाध्यक्ष साहलाई रिहा भन्ने नारा लगाउँदै नगरका विभिन्न भागको परिक्रमा गरेको थियो ।
गत मंसिर १३ गते आफ्नै वडाकि महिलालाई कुखुरा र्फममा बोलाई जर्बजस्ती बलात्कारको प्रयास गरेको आरोपमा वडाध्यक्ष साह मंसिर २४ गते पक्राउ परेका थिए । साहसँगै मोहम्मद नसिम र अनिल रायलाई पनि प्रहरीले पक्राउ गरिएको छ । जुलुसपछि सप्तरीका प्रमुख जिल्ला अधिकारी सुनिल खनाल र प्रहरी उपरिक्षक कृष्ण प्रसाईलाई रिहाइ माग गर्दै ज्ञापन पत्र पनि बुझाएको छ ।
पीडित महिलाको उजुरीको आधारमा अनुसन्धानका लागि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख एसपी कृष्ण प्रसाइले बताउनुभयो ।
सप्तरी कांग्रेसले भने उनलाई योजनाबद्ध ढंगले फसाउन खोजिएको दावी गरेको छ । कांग्रेस सप्तरीका सभापति दिनेश यादवले भन्नुभयो, ‘राजनीतिक प्रतिशोधनको भावनाले प्रेरित भई नियोजित ढंगले निवेदिका महिलालाई परिचालन गरी फँसाइएको हाम्रो पार्टीको अध्ययनबाट देखिएको छ ।’ सभापति यादवले तत्काल रिहाइ नगरिए बाध्य भई कडा संघर्षमा जाने निश्चित रहेको चेतावनी समेत दिनुभयो ।










प्रतिक्रिया दिनुहोस्