काठमाडौँ, १ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले दुर्घटना न्यून गर्ने कार्ययोजना बनाएर तत्काल लागु गर्ने निर्देशन दिनुभएको छ ।
आइतबार सिन्धुपाल्चोकको छ किल्लो भन्ने स्थानमा सवारी दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको थियो भने १९ जना घाइते भएका थिए । घटनाको भोलिपल्ट गृह र भौतिक पूर्वाधार तथा यातायातमन्त्री तथा मन्त्रालयका पदाधिकारीलाई बालुवाटार बोलाएर प्रधानमन्त्री ओलीले सिन्धुपाल्चोकको सवारी दुर्घटनामा आमाको निधन भएर दूधे बालक बेवारिस भएको खबर पढ्दा आफू निकै भावुक भएको बताउँदै यस्ता प्रकारका दुर्घटना तत्काल न्युनिकरण गर्ने योजना ल्याई कार्यान्वयन गर्न निर्देशन दिनुभएको हो ।
गृहमन्त्री रामबहादुर थापा, भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्वाङ, गृहसचिव, भौतिक पूर्वाधार तथा यातायात सचिव, प्रहरी प्रमूख, ट्रफिक प्रहरी प्रमुख, सडक विभाग र यातायात व्यवस्था विभागका महानिर्देशक लगायत सहभागी बैठकमा प्रधानमन्त्री ओलीले सवारी दुर्घटना घटाउने गरी पूर्वाधार तथा सडक नियम पालना गराउन निर्देशन दिनुभएको हो ।
उहाँले भन्नुभयो, ‘सिटभन्दा बढी यात्रु राख्न नदिने, छतमा यात्रु राख्न नदिने, निर्माण पूरा नभएका वा यातायात सञ्चालनका लागि योग्य नभएका सडकमा सञ्चालन अनुमति नदिने, चालकको क्षमता परीक्षण गर्नेजस्ता काम तत्काल गरिहाल्नुस् । सडक पूर्वाधारको स्वीकृति गर्दा डबललेन घटीको संरचना स्वीकृत नगर्नुस्, सडकको डिलमा ग्रास ब्यारियार अनिवार्य निर्माण गर्ने व्यवस्था गर्नुस्, सडकमा स्पिडब्रेकरको अनिवार्य व्यवस्था गर्नुस्, बस चालकको कक्षमा ध्यान अन्तै मोड्ने खालका मानिस तथा सामग्री छन् भने हटाउने स्पष्ट नियम बनाउनुस् ।’
सवारी दुर्घटनामा भएका मानवीय क्षतिले आफूलाई निद्रा नपरेको भन्दै उहाँले भन्नुभयो, ‘विरामी अवस्थामा रहेर हो कि म निकै भावुक भएँ । हिजो खाना खान र सुत्न पनि सकिनँ । यस्ता दुर्घटनाले ठूलो संख्यामा सक्षम जनशक्तिको क्षति भएको छ । बृद्धबृद्धा र बालबालिकालाई बेसाहारा बनाएको छ । यसलाई रोक्ने कार्ययोजना बनाउनुपर्यो ।’
सार्वजनिक यातायात दुर्घटना हुँदा ठूलो जनधनको क्षति हुने भन्दै उहाँले चालकहरुलाई तालिम, लाइसेन्सको पुनर्परीक्षण र सडक पूर्वाधार प्रयोगको अनूमतिमा गम्भीर परीक्षण गर्न निर्देशन दिनुभएको छ । हरेक सडक दुर्घटनाका कारणहरुको छानविन गरी प्रतिवेदन तयार गर्न र सोही अनुरुपको सुधार गर्न प्रधानमन्त्री ओलीले निर्देशन दिनुभयो ।










प्रतिक्रिया दिनुहोस्