राजनीति

अब नराम्रो गर्नेलाई नियन्त्रण र राम्रो गर्नेलाई पुरस्कृत गरिन्छ : मन्त्री गुरुङ



ललितपुर, २ पौष । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङले काम नगर्ने गैरसरकारी निकायलाई नियन्त्रण गर्ने र राम्रो काम गर्नेलाई पुरस्कृत गर्ने कामको सुरुवात गर्ने बताउनुभएको छ ।

मंगलबार ललितपुरमा राष्ट्रिय महिला आयोगले गरेको नवनियुक्त मन्त्रीलाई स्वागत तथा लैङ्गिक हिंसा नियन्त्रणका कामबारे जानकारी दिन गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री गुरुङले महिला, बालबालिका तथा जेष्ठ नागरिकका क्षेत्रमा आफूले सशक्त ढंगले काम गर्न कार्ययोजना बनाइरहेको उल्लेख गर्नुभयो । मन्त्री गुरुङले भन्नुभयो, ‘अब नराम्रो गर्नेलाई नियन्त्रण र राम्रो गर्नेलाई पुरस्कृत गर्ने अभियान पनि सुरु हुन्छ । महिलाको नाममा संघ संस्था खोल्ने र महिला बेचबिखन गर्ने संस्थाहरुको खोजी किन नगर्ने ?’

आज बालबालिकाका क्षेत्रमा क्रियाशील सरोकारवाला पक्षसँग छलफल गरेको बताउँदै उहाँले छिट्टै जेष्ठ नागरिक र महिलाका क्षेत्रमा क्रियाशील पक्षसँग सुझाव लिएर आगामी नीति तथा कार्यक्रमका लागि योजना बनाउने उल्लेख गर्नुभयो ।

विगतमा आफू संसदीय सुनुवाई समितिको सदस्य भएर सरकारलाई यसरी काम गर्नु भनेर सुझाव दिने ठाउँमा रहेको मान्छे अहिले आफै सरकारमा रहेकोले अभियानकर्मीहरुले दिएको सुझाव कार्यान्वयन गर्न सहयोग गर्ने उहाँले जानकारी गराउनुभयो ।