राजनीति

वडाध्यक्षद्वारा प्रमुख प्रशासकीय अधिकृत कुटिए



रुकुम, ३ पौष । रूकुम पश्चिमको आठबीसकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसी र सूचना प्रविधि अधिकृत गणेश चन्द बुधबार साँझ कुटिएका छन् ।

कुटपिटमा संलग्नको आरोपमा प्रहरीले आठबीसकोट नगरपालिका वडानम्बर ३ का अध्यक्ष केशरमान विकलाई नियन्त्रणमा लिएको छ । कार्यालयको काम सकेर आवासतर्फ फर्कंदै गरेका केसी र चन्द बुधबार बेलुका ६ बजेतिर आठबीसकोट नगरपालिका–९, राडीज्युलामा कुटिएका हुन् । आक्रमणबाट निमित्त प्रमुख प्रशासकीय अधिकृत केसीको टाउकोमा चोट लागेको छ । चेन प्रहारबाट चोट पुगेको उनको टाउकोमा पाँच टाका लगाइएको छ ।

आठबीसकोट नगरपालिका–३ मा पर्ने बसेरा–खदी सडक खण्ड निर्माणका क्रममा महालेखापरीक्षकको कार्यालयले देखाएको २९ लाख बेरुजुपछि केशरमानसँग आफ्नो विवाद भएको र त्यसकै रिस फेर्न बुधबार आक्रमण भएको उनको भनाइ छ । ‘बसेरा–खदी सडकको बजेटमा महालेखाले २९ लाख बेरुजु देखाएपछि उनले मिलाउन भनेका थिए । मैले सकिँदैन भनेपछि उनी मसँग रूष्ट थिए’, निमित्त प्रशासकीय अधिकृत केसीले भने, ‘त्यसैको रिस फेर्न उनले बुधबार मलाई आक्रमण गरे ।’

जिल्ला प्रहरी कार्यालय, रूकुम पश्चिमका डीएसपी सुमित खड्काले आठबीसकोटका निमित्त प्रशासकीय अधिकृतले कुटपिट गरेको भन्दै वडाध्यक्षविरुद्ध किटानी जाहेरी दिएको बताए । जाहेरीपछि वडाध्यक्षलाई पक्राउ गरिएको र संलग्न अन्यको खोजी भइरहेको उनले जानकारी दिए ।

आक्रमणका घटना भएपछि यहाँका कर्मचारी आन्दोलित बनेका छन् । उनीहरूले निमित्त प्रशासकीय र आइटी अधिकृत कुटपिटमा संलग्नमाथि कारबाही नभएसम्मका लागि बिहीबारदेखि सम्पूर्ण काम ठप्प पार्ने घोषणा गरेका छन् ।