समाचार

सिन्धुपाल्चोक बस दुर्घटनामा मृतकको सङ्ख्या १६ पुग्यो



चौतारा, ५ पौष  । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका-७ स्थित लामोसाँघु-जिरी सडक खण्डअन्तर्गत छ किलोमा मङ्सिर २९ गते भएको बस दुर्घटनामा मृतकको सङ्ख्या १६ पुगेको छ ।

दुर्घटनामा गम्भीर घाइते भइ काठमाडौँ मेडिकल कलेज सिनामङ्गलमा उपचाररत बलेफी गाउँपालिका-३ निवासी ७ वर्षीया आशिका तामाङको बिहीबार राति मृत्यु भएपछि मृतकको सङ्ख्या १६ पुगेको हो ।

उपचारका क्रममा मृत्यु भएकी बालिकाको आमाको ह्याम्स अस्पताल र बाबुको नर्भिक अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा घाइते १८ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दोलखाको कालिञ्चोकबाट भक्तपुरका लागि छुटेको बा४ख ४४६८ नंको रिजर्भ बस सडकबाट करिब १०० मिटर तल खसेर दुर्घटना हुँदा घटनास्थलमै १२ जनाको मृत्यु भएको थियो भने ४ जनाको उपचारका क्रममा मृत्यु भएको छ ।