समाचार

कोटेश्वर–जडिबुटीको जाम न्यूनिकरणको विकल्प हनुमन्ते कोरिडोर ?



भक्तपुर, १० पौष । संघिय संसद विकास तथा प्रविधि समितिले काठमाडौँ, ललितपुर र भक्तपुर भई बग्ने हुनमन्ते नदीको निर्माणाधिन करिडोरको अनुगमन गरेको छ ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतको विशेष पहलमा उक्त समितिले आज स्थलगत निरिक्षण तथा अनुगमन गरेको हो ।

दोस्रो चरण अन्तरगत रु १ अर्व ९९ करोडको लागतमा निर्माण कार्य भइरहेको उक्त करिडोर निर्माणलाई व्यापक मात्रामा तिव्रता दिई कोटेश्वर–जडिबुटीको जामलाई न्युनिकरण गर्न हनुमन्ते तथा मनोहरा नदीको करिडोर सम्पन्न गर्नु अहिलेको अपरिहार्य रहेको औल्याउँदै समितिका सभापति कल्याणी खड्काको नेतृत्वमा आएको टोलीले काठमाडौँ र ललितपरको संगम स्थल बालकुमारीदेखी भक्तपुरको राधेराधेसम्म अनुगमन तथा निरिक्षण गरेको हो ।

करिब एक तर्फी ८ किलोमिटर तथा दुई तर्फी गरी करिब १६ किलोमिटर निर्माण गरिने उक्त करिडोरमा हनुमन्ते नदी २० मिटर तथा दायाँ बाँया २०÷२० मिटर गरी जम्मा ६० मिटरको उक्त करिडोरको बीच भागमा ९ मिटरको ग्रीनरी समेत निर्माण गरिने भएको छ ।

एकिकृत रुपमा निर्माण कार्य भइरहेको उक्त करिडोर सहरी विकास मन्त्रालय अन्तरगत उच्च स्तरिय अधिकार सम्पन्न एकिकृत वागमती परियोजना इकाई समितिद्वारा निर्माण कार्य भइरहेको उक्त करिडोर भक्तपुरको लागि मात्र नभई उपत्यकाबासीको लागि नै विकासको मेरुदण्डको रुपमा हेरिएको छ । उक्त करिडोर निर्माण सम्पन्न भएपश्चा कोटेश्वर जडिबुटीको घण्टौंसम्म हुने जाम न्युनिकरण हुनेछ ।

अनुगमन पछि विशेष जानकारी गराउँदै खानेपानी मन्त्रालय अन्तरगतको पिआईडीका प्रतिनिधि भोजविक्रम थापाले उपत्यकामा फोहोर पानी तथा ढलको प्रशोधन गरी मल तथा वायो ग्यास निर्माणको कार्य तिव्र गतिमा भइरहेको जानकारी गराउँदै उक्त प्रशोधित पानी नदीमा बग्न थालेपछि उपत्यकाको वातावरणमा भएको प्रदुषण न्युनिकरण हुने दावी गर्नुभयो ।

४० करोड लिटर फोहोर पानी तथा ढल संकलन गरी मल तथा वायो ग्यास निकाल्ने लक्ष्य रहेता पनि हाल १३ सय ४० लिटरको भने तिव्र गतिका साथ प्रशोधित गर्ने काम भइरहेको जानकारी गराउनुभयो ।

बागमति आयोजनाका प्रतिनिधि लिला प्रसाद ढकालले अनुगमनले निर्धारित समयमा नै सम्पन्न गर्न प्रेरित गरेको बताउँदै संस्थाले सम्बन्धीत निकायसँगको सहकार्यमा ढल, कोरिडोरलगायतका कार्यहरु गरिरहेको जानकारी गराउनुभयो । उहाँले हनुमन्ते नदीको करिडोर निर्माणमा जनप्रतिनिधिले नै आएर तथा लिखित रुपमा नै रोक्न समेत निर्देशन दिएकाले निर्माण कार्यमा कठिनाइ भइरहेको समेत जानकारी गराउनुभयो ।
कार्यक्रममा सांसद बस्नेतले करिडोर अरनिको राजमार्गको बैकल्पीक राजमार्गको रुपमा समेत काम गर्ने उल्लेख गर्दै करिडोर सञ्चालनमा अएपछि कोटेश्वर–जडिबुटीको सवारी जाम न्युनिकरण हुने उल्लेख गर्नुभयो । उहाँले करिडोरसँग जोड्न लिङ रोडहरु समेत तिव्र गतिका साथ निर्माण भइरहेको जानकारी गराउँदै संघिय सरकार अन्तरगतका मन्त्रालयबाट ठूला पुलहरु निर्माणको कामले अपेक्षा गरे जति तिव्रता नपाएकोमा समितिद्वारा विशेष सहयोगको आग्रह समेत गर्नुभयो ।

करिडोर निर्माणको लागि भक्तपुर खण्डमा ठूलो समस्या नरहेको जानकारी गराउँदै उहाँले मध्यपुर थिमी नगरपालिका र सूर्यविनायक नगरपालिकाले जग्गा एकिकरण आयोजनाको माध्यमबाट समस्या समाधानको बाटोमा अघि बढेको जानकारी गराउनुभयो । करिडोरको सञ्चालन गर्न विशेष योजनाका साथ भक्तपुर, ललितपर तथा काठमाडौँ जोड्ने मुख्य पुल निर्माणको क्रममा रहेको र केही समय लाग्ने भएकाले तत्कालको लागि वेलिव्रज समेत सञ्चालनमा ल्याइसकेको जानकारी गराउनुभयो ।

उहाँले करिडोरको दायाँ बाँया २०र२० मिटर सडक भएता पनि ११र११ मिटर सडक र बाँकी ९र९ मिटरमा ग्रीनरी बनाउने लक्ष्य रहेको जानकारी गराउनुभयो । त्यसमा ११ मिटरको सडकलाई १३र१४ मिटरको बनाउनुपर्ने जनताको माग रहेको उहाँले जानकारी गराउनुभयो ।

कैशलटारको सागबारी एरियामा प्रमुख प्रतिपिक्षी दलका नेता तथा पूर्वमन्त्री जगन्नाथ आचार्यको श्रीमति विमली उपाध्यायको नाममा ५४ रोपनी सार्वजनिक जग्गा व्यक्तिको नाममा लगिएको जानकारी गराउँदै उहाँले त्यसलाई पुन सार्वजनिक जग्गा नै बनाउन नेपाल सरकार तथा समितिले विशेष पहल गरिदिन आग्रह समेत गर्नुभयो ।

सभापति खड्काले जडिबुटी–कोटेश्वरको सवारी जामको तत्काल विकल्प खोज्नुपर्नेमा जोड दिँदै करिडोर निर्माण कार्य छिटो र छरितो ढंगले सम्पन्न गर्न सवै लाग्नुपर्नेमा जोड दिनुभयो । विकास निर्माणका कार्यहरुमा समस्या आउने भएकाले समस्यालाई वार्ता र छलफलको माध्यमबाट समस्या समाधान गर्नुपर्नेमा जोड दिँदै समस्या आयोभन्दैमा आयोजना रोक्न नहुने स्पष्ट पार्नुभयो ।