काठमाडौँ, १२ पौष । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य भीम बहादुर रावलले मेलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताका कतिपय प्रावधानहरु नेपालको हितमा नरहेको उल्लेख गर्नुभएको छ ।
शुक्रबार राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा पूर्वमन्त्री समेत रहनुभएका नेता रावलले आफू अमेरिकी सहयोग लिन नहुने पक्षमा नरहेको, तर कतिपय विषय दुवै देशले स्पष्ट पार्नुपर्ने उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘मैले अमेरिकी सहयोग लिनुहुँदैन भनेको होइन, तर सहयोग लिँदा आफ्नो देशको हित, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधिनता र स्वाभिमानलाई अक्षुण राख्नुपर्छ । नेपाली जनतालाई अन्धकारमा राख्ने षड्यन्त्र गर्नुहुँदैन ।’
रावलले भन्नुभयो, ‘ती छलफलमा कतिपयले यत्रो ठूलो धनराशी सहयोग आउँदैछ, हामीले यो सहयोग लिएनौं भने हाम्रो सम्बन्ध नै बिग्रिन्छ, विश्वसनीयता गुम्छ भनेको पनि सुनें । अनि परराष्ट्र नीति नमानेर हाम्रो देशको स्वाधीनता, स्वतन्त्रता र अखण्डतालाई नै शिरोपर गरेन भने त विश्वसनीयतामात्रै नभइ देशको अस्तित्व नै गुम्ला नि ? यतातर्फ ध्यान दिएको छ कि छैन यसो भन्नेहरुले ?’
रावलले लोकतन्त्रमा जनताले जवाफ पाउनुपर्ने पनि धारणा राख्दै अगाडि भन्नुभयो ,‘लोकतन्त्रमा सरकार जनताप्रति उत्तरदायी हुनुपर्छ । हामी जनप्रतिनिधि संसदप्रति उत्तरदायी हुनुपर्छ । उत्तरदायीविहीन क्रियाकलाप कसैले गर्छ भने त्यो राम्रो हुँदैन् । त्यो त निरंकुशवादी कदम हो ।’










प्रतिक्रिया दिनुहोस्