भक्तपुर, १३ पौष । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले विगतको लामो इतिहासमा भक्तपुरको विकास र समृद्धिको लागि कार्यालयको टेवल–टेवलमा पुग्दा पनि योजना तथा बजेटको व्यवस्थापन हुन नसक्ने परिस्थितीको अन्त्य गर्दै वर्तमान समयमा कुनै पनि कार्यालयले आवश्यक योजनाहरुको सूची लिएर आउनुस् भन्ने वातावरण सिर्जना भएको बताउनुभएको छ ।
गुण्डु खानेपानी तथा सरसफाई मुल उपभोक्ता समितिको आठौं साधारणसभामा बोल्दै सांसद बस्नेतले स्मार्ट सिटीको विकास गर्दै प्रत्येक घरमा फोहोरबाट गोवर ग्यासको उत्पादन गर्नुपर्ने बताउँदै अबका दिनमा व्यवस्थित शहर, आत्मनिर्भर घर अबको अभियान नै सञ्चालन गर्नु जरुरी रहेको औल्याउनुभयो । उहाँले आत्मनिर्भर घर बनाउनेलाई स्थानीय तहले नक्सा पासमा विशेष छुट दिनुपर्नेमा समेत जोड दिनुभयो ।

उहाँले भन्नुभयो, ‘हिजो अन्य विकसित ठाउँहरु जस्तै गुण्डु बनाईदिनु पर्यो भन्ने गरिन्थ्यो तर अहिले अन्य छिमेकी जिल्लाहरुले गुण्डुको जस्तै विकास गरिदिनु पर्यो भनेर भन्न थालेका छन् । हिजो विकास चाहियो भनेर टेवल टेवमा पुग्नुपर्ने अवस्था थियो । अहिले सूची लिएर आउनुस् भन्ने अवस्था पुगेको छ ।’
प्राकृतिक स्रोतमा गुण्ड धनि रहेको उल्लेख गर्दै उहाँले आउँदो पुस्तालाई विशेष योजना बनाई शहरी क्षेत्रमा विशेष गरी रिचार्ज सिस्टमको विकास गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘विशेष गरी आउँदो पुस्तालाई आधार बनाई योजना बनाई आकाशबाट परेको पानीलाई आफ्नो घरको मुनितिर जाने र माटोमा सञ्चित हुने वातावरणको सिर्जना गर्नु अहिलेको अपरिहार्यता जस्तै बनेको छ । यसलाई योजना बनाई अघि बढ्नुपर्छ ।’
जनताको योगदान तथा सहयोगका कारण भक्तपुरका सम्पूर्ण विकास सम्भव भएको उल्लेख गर्दै पूर्वउद्योगमन्त्री समेत रहनुभएको सांसद बस्नेतले भक्तपुरमा शुसाशन, पारदर्शिता, मितव्ययीताका हिसावले नमुनायोग्य रहेको स्पष्ट पार्नुभयो ।

भक्तपुरका जनताले पानीको लागि पौसा तिर्नुपर्ने नभई कार्यालय व्यवस्थापनको लागि केही रकम तिरेको उल्लेख गर्दै उहाँले एक सय रुपैंयामा १० हजार लिटर खानेपानी वितरण गर्दा पनि करिव ६१ लाख रुपैंया समितिमा सञ्चित रहेको समेत जानकारी गराउनुभयो ।
भक्तपुरको माग अनुसारको खानेपानीको विकास भइरहेको जानकारी गराउँदै उहाँले साविकका समितिहरु एकिकरण गर्नु आवश्यक रहेको जसमा किवाचोक, तीनधारे, मन्थलीलगायतका समितिहरु एकिकरणको प्रकृयामा रहेको समेत जानकारी गराउनुभयो ।
परम्परागत खानेपानी प्रवृत्तिलाई आधुनिक तवरले अघि बढेको उल्लेख गर्दै उहाँले आधुनिक तवरले केही समय पश्चात भक्तपुरमा खानेपानी समस्या भएको ठाउँमा व्यवस्थापन गर्दै लैजाने प्रतिवद्धता समेत जनाउनुभयो ।











प्रतिक्रिया दिनुहोस्