काठमाडौँ, १३ पौष । मन्त्री बने पछि दैनिक रुपमा कम्तीमा एउटा नतिजामूखी कार्यको शुभारम्भ गर्नुभएका भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङले पक्कि पुलको शिलान्यास गर्नुभएको छ ।
काठमाडौँको बल्खु स्थित कीर्तिपुर–तिनथाना जोड्ने बल्खु खोलाको पुलमा एक कार्यक्रमका बिच शिलान्यास गर्नुभएको हो । एक मुख्य सवारी जाम तथा चोकको रुपमा रहेको उक्त स्थानमा रु तीन करोड ४४ लाख ७१ हजारको लागतमा उक्त पक्की पुल निर्माण शुरु भएको हो ।
आगामी २०७७ साल मंसिर ८ गतेसम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ उक्त पुलको शिलान्यास मन्त्री नेम्वाङले गर्नुभएको हो । फुटपात सहितको ११ मिटर चौडाईको उक्त पुल २५ मिटरको लम्बाईको हुनेछ ।
कीर्तिपुुर तथा चन्दागीरि नगरपालिकाका पुर्खाले निर्माण गरेको ऐतिहासिक पुलको ठाउँमा अर्को नयाँ पक्की पुल निर्माण गरिएको हो । शिलान्यास कार्यक्रममा बोल्दै मन्त्री नेम्वाङले यो आर्थिक वर्षमा ठूला साना गरी करिव दुई सय वटा भन्दा बढी पुलहरु निर्माण गर्ने बताउनुभयो ।

रेल निर्माणको प्रकृया मात्र अघि बढेको नभई अब सञ्चालन गर्ने प्रकृयामा अघि बढेको दावी गर्र्दै उहाँले विकास निर्माण काठमाडौँ उपत्यका सहित देशभर तिव्र गतिमा अघि बढ्ने उल्लेख गर्नुभयो । उहाँले जनताको चाहना र आवश्यकता अनुसार सरकार विकास र समृद्धिको बाटोमा अघि बढेकाले अब शिलान्यास र उद्घाटनका कार्यहरु व्यापक मात्रामा हुने स्पष्ट पार्नुभयो ।
नेपाल अब विकास विना बस्न नसक्ने उल्लेख गर्दै उहाँले अबको सरकारको लक्ष्य भनेको नै सुरुङ मार्ग, रेल मार्ग, पानीजहाज लगायतका ठूला ठूला योजनाहरु सफल बनाउँदै अविकसित मुलकुबाट विकासन्मुख मुलुकको रुपमा स्थापीत गर्ने रहेको उल्लेख गर्नुभयो ।
विगतमा नेतृत्वले बोल्ने तर त्यसलाई कार्यान्वयन नहुने परम्परालाई सदाको लागि विदायी गरी बोलेका र योजनालाई शतप्रतिशत जनताले देख्ने र भोग्ने गरी कार्यान्वयनमा लैजाने समेत प्रतिवद्धता जनाउनुभयो ।

योजनालाई सफल बनाउन कानुनहरु संशोधन गरी अघि बढिरहेको जानकारी गराउँदै उहाँले विकास निर्माण सवैको साझा एजेण्डा भएकाले सवै सम्बनधीत निकाय, संघसंस्था, राजनीतिक दललगायतको साथ र सहयोग अपरिहार्य रहेको औल्याउनुभयो ।
काठमाडौँ उपत्यकामा रहेका सडकका खाल्डा खुल्डी पुर्ने कार्य तिव्र गतिमा अघि बढिरहेको उल्लेख गर्दै सवै निकायले सहयोग गर्नुपर्नेमा उहाँको जोड रहेको थियो । उहाँले निर्माण व्यवसायीहरुको लागि काम गर्नमा कुनै समस्या नभएको उल्लेख गर्दै उहाँले अवका दिनमा यो वा त्यो वहाना नचल्ने समेत स्पष्ट पार्नुभयो । आफ्नो कार्यकाल नतिजामूखी हुनुपर्नेमा जोड दिँदै उहाँले ढिला सुस्ती गर्न कसैलाई छुट नहुने समेत बताउनुभयो ।
६ महिनाभित्र चावहिल सडक सम्पन्न गर्न निर्देशन दिएको जानकारी गराउँदै उहाँले काठमाडौँसँग जोडिएका सवै सडकहरु तिव्र गतिका साथ निर्माणको प्रकृयामा रहेको जानकारी गराउनुभयो ।











प्रतिक्रिया दिनुहोस्