राजनीति

अमेरिकी सहयोग ‘एमसीसी’ संसदबाट पारित गर्न नेकपा लचिलो



काठमाडौँ, १३ पौष । सत्तारूढ नेकपाले विकास र सहयोगसम्बन्धी अमेरिकी सहयोग मिलेनियम च्यालेन्स कर्पाेरेसन (एमसीसी) संसदबाट पारित गर्ने संकेत गरेको छ । पार्टी स्थायी समिति बैठकपछि अध्यक्ष केपी ओली र पुष्पकमल दाहालले केन्द्रीय नेताहरूलाई जारी ‘गोप्य अन्तरपार्टी निर्देशन– ३’ मा एमसीसीप्रति लचक देखिएको हो ।

सर्कुलरमा छलफल र प्राप्त तथ्यले ‘एमसीसी’ इन्डो प्यासिफिक रणनीतिको अधीनस्थ छैन भन्ने देखाएको उल्लेख छ । निर्देशनमा भनिएको छ, ‘एमसीसी इन्डो प्यासिफिक रणनीति अधीनस्थ छ कि छैन ? र एमसीसीअन्तर्गतको ५०० (५० करोड अमेरिकी डलर हुनुपर्नेमा निर्देशनमा अंक गलत लेखिएको छ) अमेरिकी डलर बराबरको अनुदान सहयोग नेपालले लिन हुन्छ कि हुँदैन ? भन्ने विषयमा बैठकमा गम्भीरतापूर्वक छलफल भयो । प्राप्त तथ्यले एमसीसी इन्डो प्यासिफिक रणनीति अधीनस्थ छैन भन्ने देखाएको छ । तथापि बैठकले समग्र पक्ष बुझेर उपयुक्त निर्णय गर्ने जिम्मेवारी पार्टी केन्द्रीय सचिवालयलाई दिएको छ ।’

अध्यक्षद्वयले १० पुसमा हस्ताक्षर गरेको सर्कुलर शनिबार नेताहरूलाई जारी गरिएको हो । स्थायी समिति बैठकमा नेताहरूले एमसीसीलाई इन्डो प्यासिफिक रणनीतिकै अंग हो–होइन स्पष्ट पारिनुपर्ने र अमेरिकी सैन्य गठबन्धनको अधीनस्थ भए स्वीकार गर्न नहुने विषयमा चर्को बहस गरेका थिए । सरकारमा रहेका नेताहरू एमसीसी पारित गर्ने पक्षमा र अन्य केही नेता विपक्षमा थिए । स्थायी समितिले यस सम्बन्धमा निर्णय लिन नसकेपछि पार्टीले सचिवालयलाई जिम्मेवारी दिएको थियो । यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ ।