Banner News

विकेन्द्रित भएका समस्यालाई केन्द्रित गरेर समाधानको बाटो खोजी गर्दैछौ : मन्त्री मगर



काठमाडौँ, १५ पौष । खानेपानी मन्त्री बिना मगरले विकेन्द्रित भएका समस्याहरुलाई केन्द्रित गरेर समाधानको बाटो खोज्ने तयारी मन्त्रालयले गरिरहेको बताउनुभएको छ ।

खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपालले सोमबार राजधानीमा आयोजना गरेको ‘खानेपानी तथा सरसफाइ क्षेत्रको अवस्था र नीतिगत व्यवस्था विषयक’ राष्ट्रिय गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मगरले सिंचाईमा जस्तै आम जनताले उपभोग गर्ने खानेपानीमा बिजुली महसुल ९डिमाण्ड चार्ज० मा छुट दिन मन्त्रालय लागिरहेको स्पष्ट पार्नुभयो ।

नयाँ खानेपानी विधेयकले जनताका मौलिक हक अधिकारलाई संरक्षण गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउँदै उहाँले आम जनताका समस्यालाई समाधान गर्न खानेपानी विधेयक बढी केन्द्रित रहेको दावी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘खानेपानी ऐन जनताको जीवनसँग प्रत्यक्ष जोडिएको छ । जनताका समस्या र आवश्यकतालाई ध्यानमा राखेर ऐन बनाएका छौं । खानेपानीको क्षेत्रमा हामी कहाँ स्रोतको अधिकारको विषयलाई लिएर धेरै विवादहरु आएका छन् । खानेपानीको मुहान स्रोतको अधिकारका विषयमा विधेयकमा स्पष्ट व्यवस्था गरिएको छ । यसले त्यो समस्या हल गर्नेछ । व्यक्तिको पहुँचका भरमा हाम्रा खानेपानीका आयोजनाहरु तयार भए । तर जनताको आवश्यकताका बारेमा कसैले ध्यान दिएको पाइएन । अब हामीले आवश्यकताको आधारमा मात्र योजना बनाउँछौं । स्थानीय तह, प्रदेश र संघीय सरकार आपसमा समन्वय गरेर मात्र गुरु योजना तयार गर्छौं ।’