राजनीति

राष्ट्रपति भण्डारीद्वारा नेपाल भ्रमण वर्ष २०२० दशरथ रंगशालाबाट शुभारम्भ हुँदै



काठमाडौँ, १६ पौष । नेपाल भ्रमण वर्ष २०२० बुधबारबाट औपचारिक रुपमा सुरु हुँदैछ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौंको दशरथ रंगशालामा भव्य समारोहका बीच भ्रमण वर्षको औपचारिक शुभारम्भ गर्नेछिन् । यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले समारोहलाई विशेष सम्बोधन गर्नेछन् ।

अपराह्न ४ बजेदेखि शुरु हुने औपचारिक समारोह पाँच घण्टासम्म चल्ने भ्रमण वर्ष सचिवालयले जनाएको छ । नेपालका मौलिक संस्कृति झल्कने नाचगानबाट शुरू हुने कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको सहयोगमा राष्ट्रगान बजाइनेछ ।

राष्ट्रगान सकिएलगत्तै बाजागाजासहित रंगशालामा भ्रमण वर्ष २०२० को मानव साङ्लो बनाइनेछ । कुटुम्ब ब्याण्डको सांगीतिक प्रस्तुतिमा विभिन्न संघसंस्थाले परेड खेल्नेछन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले स्वागत मन्तव्य राख्नेछन् । सोही समारोहमा भ्रमण वर्षको राष्ट्रिय गीतसमेत सार्वजनिक गरिनेछ ।