राजनीति

अदालत परिसरभित्रैबाट विप्लव समूहका चार जना नेता पुन: नियन्त्रणमा



दाङ, १७ पौष । धरौटी बुझाएर रिहा हुन लागेका नेत्रविक्रम चन्द विप्लव नेतृत्व नेकपा समूहका चार जनालाई प्रहरीले अदालत परिसरभित्रैबाट पुन पक्राउ गरेको छ ।

बुधवार दाङको देउखुरी जिल्ला अदालतमा धरौटी बुझाएर रिहा हुन लागेका कुलबहादुर ओली, धनबहादुर बुढा, तिलक पुन र एकराज चौधरीलाई अदालत परिसरभित्रैबाट पुनः नियन्त्रणमा लिइएको हो ।

जिल्ला अदालतले गएको पुस ७ मा पक्राउ परेका २१ जनालाई नै १५/१५ हजार रुपैयाँ धरौटीमा रिहा हुन आदेश दिएको थियो । तर प्रहरीले फेरि अदालत परिसरबाटै फरक मुद्दा लगाएर पक्राउ गर्ने तयारी गरेपछि उनीहरु गएको पुस ७ गते धरौटी नबुझाइकन कारागार चलान भएका थिए ।