राजनीति

१० प्रतिशत रकम आमाबुवालाई दिनुपर्ने प्रावधान विधेयकबाट हट्यो



काठमाडौँ, २१ पौष । कुल आम्दानीको १० प्रतिशत रकम आमाबुवाको खातामा जम्मा गर्नुपर्ने प्रावधान ह्टेको छ ।

आइतबार बसेको महिला तथा सामाजिक समितिको बैठकले कुल आम्दानीको १० प्रतिशत रकम आमाबुवाको खातामा जम्मा गर्नुपर्ने प्रावधान हटाएर  ज्येष्ठ नागरिकसम्बन्धी ऐन संशोधन गर्न बनेको विधेयक पारित भएको छ ।

जेष्ठ नागरिकको जीवनयापनमा समस्या देखिएको खण्डमा आवश्यक रकम सन्तानबाट लिई जेष्ठ नागरिकको हेरचाहका लागि उपलब्ध गराउन सक्ने व्यवस्था गरिएको छ । जेष्ठ नागरिकको हकवालाको आर्थिक आम्दानी वा हैसियतअनुसार निश्चित रकम मासिकरुपमा जेष्ठ नागरिकको खातामा जम्मा गराउन सक्ने प्रावधान भने विधेयकमा राखिएको छ ।

हेरचाह नगर्ने हकवाला (छोराछोरी वा नजिकका नातेदार) ले जेष्ठ नागरिकको नाममा रहेको सम्पत्ति नपाउने विधेयकमा व्यवस्था छ । आफूले पालनपोषण वा हेरचाह गर्नुपर्ने जेष्ठ नागरिकको सम्पत्तिमा सम्बन्धित स्थानीय तहले आफ्नो स्वामित्वमा ल्याउने छ ।

‘हेरचाह नगरिएका वा अलपत्र अवस्थामा रहेका जेष्ठ नागरिकको जायजेथा वा अंशभाग भएमा स्थानीय तहले आफ्नो स्वामित्वमा ल्याई निजको हकहितका लागि परिचालन गर्नेछ’ आइतबार समितिबाट पारित विधेयकको प्रतिवेदनमा छ ।

हकवालाले पालनपोषण नगरेर अलपत्र ज्येष्ठ नागरिकलाई हेरचाह केन्द्रमा राखी पालनपोषण तथा हेरचाह गर्ने व्यवस्था स्थानीय तहले मिलाउनुपर्नेछ । आमाबुवाले पालनपोषण नगरेका सन्तानले भने जेष्ठ नागरिकको हेरचाह गर्न बाध्य हुने छैन ।

यस्तै, विधेयकमा जेष्ठ नागरिकहरुको सीप तथा ज्ञान हस्तान्तरणका लागि पालिकाहरुमा ज्ञान, सीप केन्द्रको स्थापना गरिने उल्लेख गरिएको छ ।