Banner News

गृहमन्त्री थापा र चीनका सार्वजनिक सुरक्षा मन्त्री झाओबीच भेटवार्ता



काठमाडौँ, २२ पौष । चीन भ्रमणमा रहेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र चीनका सार्वजनिक सुरक्षा मन्त्री झाओ केजीबीच भेटवार्ता भएको छ ।

भेटमा मन्त्री थापाले  नेपाली भूमिमा चीनविरुद्ध हुने गतिविधि स्वीकार्य नहुने बताएका छन् । उनले नेपाल एक चीन नीतिमा दृढ रहेको पनि बताएका छन् । उनले भने ‘सुरक्षा सहयोग, मानव संसाधन विकास र विपदमा राहतप्रति चीनको निरन्तर सहयोगप्रति धन्यवाद व्यक्त गर्दछु ।’

भेटका क्रममा सार्वजनिक सुरक्षाका विषयमा दुईपक्षीय सहयोगलाई बढावा दिँदै सीमा अपराध नियन्त्रणका साथै क्षमता विकास र सीमा व्यवस्थापनका विषयमा पनि छलफल भएको चीनस्थित नेपाली दूतावासले विज्ञप्ति जारी गरेर जनाएको छ ।

दुई नेताबीच सीमालाई सुरक्षित राख्नका लागि दुई देशको कानून कार्यान्वयन गर्ने निकायबीच सहयोग र समन्वय बढाउने विषयमा सहमति पनि भएको जनाइएको छ । भेटवार्ताका क्रममा चीनका लागि नेपाली राजदूत लीलामणि पौड्यालसहित अन्य उच्च अधिकारी सहमति थिए । थापा २५ पुसमा नेपाल फर्किने तालिका छ ।