सप्तरी, २३ पौष । सप्तरीमा नागरिकता बनाई दिन माग गर्दा नगरपालिका-१२ दमाबतीटोलकी २८ वर्षीया लक्ष्मी यादवमाथि उनकै पति महिनारायणले खुकुरी प्रहार गरी हत्या प्रयास गरेका छन् ।
मंगलबार दिउँसो लक्ष्मी तरकारी बारीतर्फ जाँदै गरेको अवस्थामा मोटरसाइकलमा आएका महीनारायणले तँ नागरिकता बनाइदिन भन्दै टेन्सन दिन्छस् भन्दै खुकुरी प्रहार गरेका हुन् ।
खुकुरी प्रहारबाट लक्ष्मीको टाउको र घाँटीमा गम्भीर चोट लागेको छ । उनलाई स्थानीय गजेन्द्रनारायण सिंह अस्पतालको आकस्मिक कक्षमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।
उनको टाउको र घाँटीमा ३६ वटा टाँका लगाइएको छ । लक्ष्मीको जिउभरसमेत निलडाम देखिएको छ । खुकुरी प्रहारबाट लक्ष्मी खेतमै ढलेपछि मरेको ठानेर महीनारायणले नजिकैको नहरमा खुकुरी फाली फरार भएका थिए । पूर्वप्रहरी समेत रहेका लक्ष्मीका पति महीनारायणले केही महिनाअघि मात्र दोस्रो विवाह गरका थिए ।
लक्ष्मीसँग विवाह भएको १० वर्षबढी भइसक्दा पनि नागरिकता बनाइ नदिएको तथा अर्को विवाह गरेपछि सशंकित बनेकी लक्ष्मीले पटकपटक नागरिकता बनाइदिन दबाब दिँदै आएकी थिइन् ।
सोही विषयमा लक्ष्मीले मंगलबार पनि गाउँमा कुरा उठाउने तयारी गरिरहँदा आक्रोशित बनेका महिनारायणले हत्या प्रयास गरेको स्थानीयले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्