Banner News

अध्यक्ष दाहालद्वारा ‘विप्लव’लाई मुलधारको राजनीतिमा आउन पुनः आग्रह



काठमाडौँ, २६ पौष । नेकपा अध्यक्ष पुष्पकमल दाहालले नेत्र विक्रम चन्द ‘विप्लव’लाई मुलधारको राजनीतिमा आउन पुनः आग्रह गरेका छन  ।

आज पार्टी कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले देशको स्थिति र राजनीति फेरिएकाले मुलधारमा फर्किन चन्द समूहलाई आग्रह गरेका हुन ।

विप्लव नेतृत्वको नेकपाका पोलिटब्युरो सदस्य मोहन कार्की लगायतलाई पार्टी प्रवेश गराउँदै उनले भने, ‘भोली स्वयम विप्लप पनि आउनुपर्छ । आउन ढिला गर्नुभयो भने त्यसले उहाँलाई पनि फाइदा गर्दैन । अरुलाई पनि फाइदा गर्दैन् । मलाई भरोसा छ एक दिन उहाँपनि यसैगरी आउने ठाउँमा पुग्छ । अरु साथीहरु पनि आउँछन् जो अहिले पनि सानोसानो चुलो चौकी राखेर बसिराख्नुभएको छ । त्यसबाट केही हुँदैन भनेर त बुझ्नुभएको छ होला । सबैलाई देशको स्थिति, राजनीतिक स्थायित्व, देशको विकासका बारेमा किनकी समाजवादतिर जाने भन्ने कुरामा कम्युनिष्ट नाम भएका जति सबै एक ठाउँमा आइपुगेको अवस्था छ ।’

कम्युनिष्ट आन्दोलनको शुरुका चरणमा आन्तरिक र बाह्य कारणले विभाजन र एकताको प्रक्रिया चले पनि अहिले कम्युनिष्ट पार्टीहरुबीच एकताको लहर जारी रहेको भन्दै एकताको विकल्प नरहेको उनले बताए ।

अध्यक्ष दाहालले तत्कालीन नेकपा (माओवादी) र नेकपा (एमाले) बीचको एकतापछि मुलुकमा राजनीतिक स्थायित्व, स्थिर सरकार गठनसँगै आर्थिक विकास हुँदै मुलुक समृद्धिको बाटोमा अग्रसर भएको समेत बताए ।