समाचार

तस्करको तारोमा थिए दिलीप, ५० हजार लिएर हत्या



काठमाडौँ, २७ पौष । क्रसर डनले टिपर चालकलाई रकमको प्रलोभन देखाएर अवैध उत्खनन रोक्न खोला पुगेका धनुषाका दिलीप (ओमप्रकाश) महतोको पेलेर हत्या गर्न लगाएको रहस्य सार्वजनिक भएको छ । मिथिला नगरपालिका-५ श्रीपुरका ओमप्रकाशलाई शुक्रबार टिपरले किचेर हत्या गरिएको थियो ।

चुरियामाई बालुवा प्रशोधन उद्योग श्रीपुरका क्रसरधनी स्थानीय विपिन महतोले दिलीपको हत्या गराएको स्रोतले दाबी गरेको छ । उत्खनन रोक्न गएका दिलीपलाई क्रसरधनी विपिन, लोडर चालक महोत्तरी बर्दिबास नगरपालिका-१२ बिजलपुराका जितेन्द्रकुमार महतो र बर्दिबास नगरपालिका-९ पशुपतिनगरका टिपर चालक मुनिन्द्र महतो र दिलीपका साथी श्रीपुरका रोशन यादवलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी रमेश बस्नेतले बताए ।

टिपरले किच्नुअघि विपिनले पहिले दिलीपसँग झगडा गर्दै लिभरले कुटेका थिए । कुटाइबाट गम्भीर घाइते दिलीपको हत्या गर्ने योजना खोलामै बनेको थियो ।

किचेर हत्या गराउन क्रसरधनी विपिनले टिपर चालक मुनिन्द्रसँग ५० हजारमा डिल गरेका थिए। ‘तँलाई ५० हजार दिन्छु, यसले हाम्रो व्यापारमा धेरै दुःख दिइरहेको छ । यसलाई मार्नै पर्छ, नत्र हाम्रो व्यापार नचल्ने भयो’, विपिनले टिपर चालकसँग हत्या गर्नुअघि गरेको डिलबारे स्रोतले जानकारी दिँदै भन्यो । याे खबर अन्नपूर्ण पाेस्ट दैनिकमा छ ।