Banner News

नेपालका प्रचलित पर्वहरु महत्वपूर्ण बहुमूल्य सम्पत्ती : प्रधानमन्त्री ओली



काठमाडौँ, १ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा प्रचलित पर्वहरु मुलुकको लागि महत्वपूर्ण बुहमूल्य सम्पत्ती भएको उल्लेख गर्नुभएको छ ।

माघेसङ्क्रान्तिको अवसरमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री ओलीले थारु समुदायको प्रमुख चाड माघी तथा नेपालका सबैजसो भूभागमा मनाइने माघेसङ्क्रान्तिका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले सुदृढ एकता र सहिष्णुताको यस पूँजीलाई देश निर्माणमा सदुपयोग गर्नुपर्नेमा जोड दिनुभएको छ । सूर्य दक्षिणी गोलाद्र्धबाट उत्तरी गोलार्धमा प्रवेश गर्ने समयमा हरेक वर्षको माघ १ गते देशका विभिन्न भागमा विभिन्न तरिकाले यो पर्व मनाइने गरिन्छ ।

सन्देशमा भनिएको छ, “हाम्रो देशका हरेक जातिले मनाउने मौलिक पर्वहरु यहाँको प्राचीन संस्कृतिसँग मात्र होइन, प्राकृतिक विज्ञानसँग पनि सम्बन्धित छन् । यी पर्वहरुले हामीलाई परस्पर सहिष्णुता, सद्भाव र सुदृढ एकतामा आबद्ध गरेका छन् । माघे सङ्क्रान्तिमा मासको दाल र चामल मिसाइएको खिचडी, घिउ–चाकु–तिलको लड्डु, सागपात, तरुल खाने चलन छ । जाडो याममा शरीरलाई तातो राख्ने पोषिला परिकार खाने तथा नदी किनार तथा त्रिवेणीहरुमा स्नान गर्ने यस पर्वको विशेषता शरीर विज्ञानका हिसाबले पनि उपयोगी छ । माघीलाई थारू जातिको मौलिक संस्कृतिले भरिएको सबैभन्दा ठूलो पर्वको रूपमा लिइन्छ । पुस मसान्तमा घरघरमा माछामासु र ढिकरी ९पिठोको एक परिकार०खाई रातभर मघौटा नाच नाच्ने चलन छ ।”