समाचार

हिमपहिरोमा हराएका पर्यटक खोज्न कोरियन दूतावासले पठायो हेलिकप्टर



पोखरा, ४ माघ । अन्नपूर्ण पदमार्गबाट शुक्रबारदेखि हराएका ५ जनाको पहिचान भए पनि उनीहरू अझै नभेटिएपछि कोरियन दूतावासले  हेलिकप्टर पठाएको छ ।

अत्यधिक हिँउ परेपछि विश्वकै उत्कृष्ट मानिने अन्नपूर्ण पदमार्गमा कोरियन, चाइनिज पर्यटकसँगै नेपाली गाइड तथा पोर्टल हराएको शुक्रबार सूचना आएको थियो । यीबाहेक केही नेपाली गाइड र पर्यटकसमेत हराएको अनुमान गरिएको छ । यद्यपि, यसको पुष्टि हुन भने बाँकी छ ।

हराउनेमा कोरियाली नागरिक ५३ वर्षीया किम सूक जा, ५७ वर्षीय ली मिन सु, ५९ वर्षीय जियोङ पिल बोङ र ३८ वर्षीया चोई ह्यो वन रहेको खुलेको छ । त्यस्तै, कोनाको ट्रेकिङ एजेन्सीबाट पर्यटक लिएर गएका नेपाली गाइड सरोज परियार पनि हिमपहिरोमा हराएका छन् ।

हिउँमा आफ्ना नागरिक हराएपछि नेपालस्थित कोरियन राजदूतावासले हेलिकप्टरसहित उद्दार टोली पठाएको छ । त्यस्तै उद्दारका निम्ति नेपाल प्रहरी र टानको टोलीले पनि प्रयास गरिरहेका छन् ।

कोरियाली पर्यटक ११ जनाको समूहमा थिए । तीमध्ये ७ जना सम्पर्कमा आएका छन् भने ४ जना हराइरहेका छन् ।