भक्तपुर, ५ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले जनताको सामु गरेका प्रतिवद्धता पुरा गर्ने बताउँदै विकासका नाममा कुनै पनि जनतालाई सुकुम्वासी हुन नदिने उद्घोष गर्नुभएको छ ।
शान्ति सुरक्षा र सुशासन, जनमैती प्रहरी र प्रशासन भन्ने मुल नाराका साथ मध्यपुर थिमी नगरपालिका वडा नं. ३ गठ्ठाघर स्थीत सामुदायीक सेवा केन्द्रको १४औं वार्षिक साधारण सभा कार्यक्रममा बोल्दै उहाँले विगत लामो समयदेखीको जनताको विकास प्रतिको तिर्खा मेट्ने गरी भक्तपुरमा साना ठूला योजनाको साथमा राष्ट्रिय गौरवका आयोजनाहरु समेत निर्माणको प्रकृयामा रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘हामी बोलेर हैन, काम गरेर जवाफ दिन्छौं, विकासको नाममा जनतालाई सकुम्बासी बनाउँदैनौं । भक्तपुरमा निर्माणधिन हनुमन्ते कोरिडोर निर्माणको सवालमा कसैलाई सुकुम्वासी हुन दिइन्न । ल्याण्ड पुलिङ (जग्गा एकिकरण आयोजना)को माध्यमबाट काम अघि बढाइएको छ । त्यस्तै अन्य ठाउँमा समेत सरकारले विकास निर्माण गर्दा कोही जनतालाई समस्या पर्ने भएमा मुआव्जाको व्यवस्था गर्छ । जनताको भावना विपरित काम अघि बढ्दैन । समस्या आए सम्बन्धीत व्यक्ति, समुदाय तथा निकायसँग छलफल र सहकार्यको माध्यमबाट समाधान हुन्छ ।’
भक्तपुरका जनताको ऐतिहासिक सपना साकार पर्ने कार्य भइरहेको उल्लेख गर्दै पूर्वउद्योगमन्त्री समेत रहनुभएका सांसद बस्नेतले भक्तपुरका जनताकोलागी मात्र नभई आम उपत्यका वासीको कोटेश्वर जडिवुटीको सवारी जामको अन्त्यको लागि महत्वपूर्ण कार्यको रुपमा हनुमन्ते करिडोर एक अर्व ९९ करोडको लागतमा बन्ने क्रममा रहेको बताउनुभयो । उक्त करिडोर निर्माण सम्पन्न भएपश्चात लामो समयसम्म सवारी जाम तथा अरनीको राजमार्गमा हुने सवारी दुर्घटना न्युनिकरण हुने बताउनुभयो ।
भक्तपुरमा निर्माणको प्रकृयामा अघि बढेको आधुनिक तथा नेपालकै सवैभन्दा ठूलो सभागृहको निर्माण सम्पन्न भएपश्चात भक्तपुरको मुहार नै परिवर्तन हुने स्पष्ट पार्दै सांसद बस्नेतले भक्तपुरमा राष्ट्रिय गौरवका आयोजनाहरु प्राणी उद्यान केन्द्र, आधुनीक वीर अस्पताल, सुरुङ मार्ग, अन्तर्राष्ट्रिय रंगशाला, सूर्यविनायक धुलिखेल सडक स्तरउन्नतीलगायतका धेरै आयोजनाहरु अघि बढेकोको जानकारी गराउनुभयो । उक्त आयोजनाहरु अघि बढेसँगै भक्तपुर नेपालकै लागि रोजगारी तथा आकर्षणको केन्द्रको रुपमा समेत स्थापीत हुने दावी गर्नुभयो ।
भक्तपुर जिल्ला भरीको खानेपानी, ढल, सडक, पुललगायतका भौतिक संरचना समस्या समाधान भइरहेको बताउँदै उहाँले उज्यालो अभियान अन्तरगत मनोहरा तर्फबाट सोलार लाईट राख्ने कार्य तथा सूर्यविनायकबाट उज्यालो सौन्दर्य अभियान अन्तरगतका कार्य भइरहेको समेत जानकारी गराउनुभयो ।
सामाजिक संस्थाहरु जनताको सारथीको रुपमा रहेको उल्लेख गर्दै उहाँले शान्ति सुरक्षालाई कायम गर्न मात्र नभई समुदायको विकास र समृद्धिको लागि समेत सेवा केन्द्रले विशेष भूमिका निर्वाह गरेको बताउनुभयो ।
मध्यपुर थिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले अप्ठ्यारो कामलाई सहज बनाउन सेवा केन्द्रले महत्वपूर्ण कार्य गरेको उल्लेख गर्दै ट्राफिक, सडकलगायतका क्षेत्रमा भइरहेको अस्तव्यस्थतालाई समाधान गरी अघि बढ्नुपर्नेमा जोड दिनुभयो । आफ्नो कार्यकालमा आफ्नो नगरपालिकामा नमुना शहर बनाउने महत्वपूर्ण योजनाका साथ अघि बढिरहेको जानकारी गराउँदै प्रमुख श्रेष्ठले नगरवासीको ठूलो समस्याको रुपमा रहेको खानेपानीको समस्या तत्काल समाधान हुने समेत बताउनुभयो ।
भक्तपुर प्रहरी प्रमुख (एसपी) सविन प्रधानले आपद् तथा विपद्को समयमा सेवा केन्द्रले महत्वपूर्ण भूमिका निवाृह गरेको बताउँदै शान्ति सुरक्षाका सवालमा अझ बढी सक्रिय तथा प्रभावकारी भूमिका निर्वाह गर्नु जरुरी रहेको औंल्याउनुभयो । लैङ्गिक हिंसा नियन्त्रण गर्न अहिलेको महत्वपूर्ण चुनौति रहेको उल्लेख गर्दै उहाँले लैङ्गिक हिंसा, सडक सुरक्षा, साईबर क्राइमलगायतका कुराहरुलाई पाठ्यक्रममा नै समावेश गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा पूर्वनगर प्रमुख मदनकृष्ण श्रेष्ठले सामाजिक कार्यको लागि सेवा केन्द्रले विगतदेखी उत्कृष्ठ कार्य गर्दै अघि बढिरहेको बताउँदै सामाजिक संघसंस्थाहरुलाई अझ बढी सक्रिय बनाउनु जरुरी रहेको औल्याउनुभयो ।










प्रतिक्रिया दिनुहोस्