राजनीति

राष्ट्रियसभामामा नाम मात्रैको प्रतिपक्ष



काठमाडौँ, १० माघ । राष्ट्रियसभा निर्वाचनमा सत्तासीन नेकपा एकलौटी विजयी भएको छ । १८ सदस्यका लागि बिहीबार भएको मतदानमा नेकपाले १६ सिट जितेको हो। दुई सिट नेकपासँग गठबन्धन गरेको राजपाको भागमा परेको छ । विपक्षी कांग्रेसले सातै सिट गुमाएको छ ।

प्रत्येक दुई वर्षमा एकतिहाइ सांसदको कार्यकाल समाप्त हुने संवैधानिक व्यवस्थाअनुसार १८ पदका लागि बिहीबार निर्वाचन भएको हो । एक सिटमा भने सरकारको सिफारिसमा राष्ट्रपतिबाट पछि मनोनित हुनेछ। कांग्रेसका सातसहित १९ जना सांसदको कार्यकाल फागुन २० मा सकिँदै छ। नवनिर्वाचित राष्ट्रियसभा सदस्यको कार्यकाल फागुन २० पछि मात्र सुरु हुनेछ ।

निर्वाचन आयोगका अनुसार प्रदेश १ बाट नेकपाका गोपी अछामी, इन्दिरा गौतम र देवेन्द्र दाहाल निर्वाचित भएका छन् । अच्छामी दलिततर्फ, गौतम महिला र दाहाल अन्य समूहबाट निर्वाचित भएका हुन् ।

प्रदेश २ मा नेकपा–राजपा गठबन्धनका उम्मेदवारले जितेका छन्। महिला समूहतर्फ नेकपाकी तुलसाकुमारी दाहाल र दलिततर्फ नेकपाकै राधेश्याम पासवान विजयी भएका छन् । अपांगता भएको व्यक्ति वा अल्पसंख्यक समूहतर्फ राजपाका शेखरकुमार सिंह र अन्यतर्फ राजपाकै मृगेन्द्रकुमार सिंह यादव निर्वाचित भएका छन् । यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ ।