Banner News

युवा पुस्तालाई राष्ट्रभक्तिबारे चेतना दिन आवश्यक : राष्ट्रपति भण्डारी



काठमाडौँ, १४ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकमा युवा पुस्तालाई राष्ट्रभक्ति र लोकतान्त्रिक पद्धतिका बारेमा चेतना अभिवृद्धि गर्न सङ्घीय र प्रदेश सरकारको भूमिकाको आवश्यकता रहेको बताएकी छिन् ।

आज वाग्मती प्रदेशअन्तर्गत मकवानपुर, हेटौंँडा उपमहानगरपालिका वडा नं ११ नवलपुरस्थित शहीद स्मारकमा नवनिर्मित प्रजातान्त्रिक उद्यानमा स्थापित विश्वेश्वरप्रसाद कोइराला, गणेशमान सिंह, पुष्पलाल  र मनमोहन अधिकारीको पूर्ण कदको शालिक अनावरण गर्दै राष्ट्रपति भण्डारीले सरकारले राष्ट्रभक्ति, शहीदका योगदान, गणतन्त्र एवं लोकतन्त्र आदि विषयमा  सबैलाई प्रशिक्षित तुल्याउनुपर्ने बताइन् ।

राष्ट्रपति भण्डारीले मानवअधिकारको सम्बद्र्धन, विकासको पूर्वाधार, सामाजिक न्याय वितरण र जनतालाई आर्थिक समृद्धितर्फ उन्मुख गराउन तथा उद्योगमैत्री र ऊर्जा उत्पादनमा  निजी क्षेत्रका लगानीकर्तालाई प्रोत्साहन गर्ने दिगो कार्यक्रम ल्याउन आग्रह गरिन् ।

राष्ट्रपति भण्डारीले उक्त समारोहमा स्मारक समितिको प्रवेशद्वारमा नवनिर्मित रजतस्तम्भको पनि आजै अनावरण गर्दै शहीद स्मारकमा स्थापित  जननेता मदन भण्डारीको शालिकमा पुष्पगुच्छा अर्पणगरिन् ।