Banner News

नेपाल कसैका लागि प्रयोगशाला बन्दैन : मन्त्री भट्टराई



टिकापुर, १५ माघ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाललाई सधैं कसैको प्रयोगशाला बनाई राख्नु नहुने बताउँदै अबका दिनमा नेपाल कसैका लागि पनि प्रयोगशाला नबन्ने बताउनुभएको छ ।

टीकापुर उद्योग वाणिज्य सङ्घले आयोजना गरेको ‘टीकापुरमा सुदूरपश्चिम औद्योगिक व्यापार मेला तथा टीकापुर महोत्सव’मा बोल्दै उहाँले देशको समृद्धिका निम्ति सबै राजनीतिक दल एक ढिक्का भई अगाडि बढ्नुपर्ने भन्दै कुनै पनि बहानामा देशलाई पुनः अशान्ति र द्वन्द्वतिर नलान अपिल समेत गर्नुभयो । उहाँले मुलुकको समृद्धिको पक्षमा सवै एक ढिक्का भई अघि बढ्नुको कुनै विकल्प नभएको उल्लेख गर्दै देश र जनताको अहित हुने कुनै पनि दातृ निकायसँग कुनै प्रकारका सम्झौताहरु हुन नसक्ने समेत उल्लेख गर्नुभयो ।

उहाँले टीकापुर विमानस्थल सुचारु गर्न सङ्घले दिएको एकसुत्रीय मागपत्र ग्रहण गर्दै जुनसुकै हालतमा पनि टीकापुर विमानस्थल सञ्चालनमा ल्याउने अठोट गर्नुभयो । उहाँले विमानस्थल सञ्चालनका लागि छिमेकी स्थानीय तहले समेत सहकार्य गर्न कुरा गरेकोमा धन्यवाद दिँदै केही दिनभित्रै प्राविधिक टोलीमार्फत विमानस्थलको अध्ययन गरी आवश्यक काम अगाडि बढाइने बताउनुभयो ।