Banner News

प्रधानमन्त्री ओलीः केही पनि काम भएन भनिन्छ, त्यस्तो होइन, प्रचार नभएको हुनसक्छ



काठमाडौ,१५ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले कुराबाट नभई कामबाट जवाफ दिने बताएका छन ।
आज सत्तारुढ नेकपा कम्युनिस्ट पार्टी नेकपाको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारले युगान्तकारी काम गरिरहेको र केही पनि काम भएन भनेर भएको प्रचार सही नभएको बताएका हुन् ।

उनले भने, ‘केही पनि काम भएन भनिन्छ । त्यस्तो होइन । प्रचार नभएको हुनसक्छ ।’ वर्षमा १० किलोमिटर मात्र सडक कालोपत्र हुने गरेको विगत रहेको भन्दै उनले भने, ‘अहिले दैनिक ५।७ किलोमिटर सडक कालोपत्रे हुन्छ ।

आफ्नो नेतृत्वको सरकार बनेपछि अन्तर्राष्ट्रिय सूचकांकहरुमा समेत सुधार भएको भन्दै उनले तथ्यांक प्रस्तुत गरे । आर्थिक वृद्धिदर यो वर्ष ६।५ प्रतिशत माथि रहेको तथा धानदेखि गहुँको उत्पादन समेत बढेको बताए ।

प्रधानमन्त्री ओलीले वर्तमान सरकारसँग जोडेर प्रेस स्वतन्त्रता र मानवअधिकारको बारेमा प्रश्न गर्नु निरर्थक रहेको बताएका छन् । उनले भने, ‘लोकतन्त्रप्रति प्रश्न उठाउने गरिएको छ । प्रेस स्वतन्त्रताबारे प्रश्न उठाउने गरिएको छ । यस्तो प्रश्न गर्नु निरर्थक छ, ‘तर हामी वैचारिक आग्रह पूर्वाग्रहबाट माथि उठेर, २१ औँ शताब्दीका मानिसले प्राप्त गरेका मूल्यमान्यताको दाँजोमा आफुलाई प्रस्तुत गर्न चाहान्छौँ ।’