काठमाडौँ, १८ माघ । नेपाल प्रहरीको प्रहरी कल्याण कोषद्वारा सञ्चालित नेपाल प्रहरी विद्यालय सामाखुसीको २२ औं बार्षिकोत्सव तथा अभिभावक दिवस शुक्रबार विभिन्न कार्यक्रम गरी विद्यालय परिसरमा मनाईएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा महानगरीय प्रहरी कार्यालय रानीपोखरीका, प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजि) विश्वराज पोखरेलको प्रमुख आतिथ्यमा आयोजित वार्षिकोत्सव कार्यक्रममा डिआइजि पोखरेलले बिद्यालयलको मुखपत्र ‘दिप्तिका स्मारिका २०७६’ को विमोचन पनि गर्नुभयो ।
कार्यक्रमलाई सम्वोधन गर्दै डिआइजि पोखरेलले पछिल्लो समयमा अभिभावकहरुले आफ्ना छोराछोरीलाई समयमै उचित ध्यान दिन नसकेका कारण उनीहरु गलत बाटोमा हिँड्ने गरेको बताउनुभयो ।

अभिभावकहरु आफ्ना केटाकेटीलाई भौतिक सुविधा दिँदा दंग पर्छन, तर नैतिक शिक्षा दिन चुकेको उल्लेख गर्दै डिआइजि पोखरेलले भौतिक सुविधाले केहीक्षण खुसी दिएपनि दीर्घकालमा भने केटाकेटी विग्रिरहेको तथ्य औल्याउनुभयो ।
‘आफ्ना छोराछोरीलाई सही मार्गमा ल्याउन र समाजमा सबैले सम्मान गर्ने खालको राम्रो काम गर्न अभिभावकहरुले समयमै आफ्ना छोराछोरीलाई सिकाउनु जरुरी छ’—उहाँले भन्नुभयो ।
राम्रो विरुवा नरोप्ने अनि राम्रो फलको आश गरेर हुन्छ ? विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका डिआइजि पोखरेलले अभिभावप्रति इंगित गर्दै भन्नुभयो । विद्यार्थीलाई सपार्ने काम विद्यालयको मात्रै नभई अभिभावकको पनि उत्तिकै जिम्मेवारी भएको उहाँको भनाई थियो ।

कार्यक्रममा प्रहरी नायव महानिरीक्षक पोखरेलले शिक्षाको गुणस्तरले मात्र देश समृद्ध बनाउन सकिने उल्लेख गर्दै शिक्षालाई समयानुकूल परिमार्जन गर्दै लैजानुपर्ने बताउनुभयो ।
विद्यार्थीहरुले भविष्यमा देश निर्माणमा अहम् भूमिका निर्वाह गर्ने चर्चा गर्दै उहाँले अभिभावकहरुले विद्यार्थीको गुणस्तरिय शिक्षाको लागि आफ्नो घरमा पनि शैक्षिक वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो ।
विद्यालयले प्रदान गर्दै आएको गुणस्तरीय शिक्षा तथा अबलम्बन गरेको वैज्ञानिक शिक्षण प्रणालीले आफु निकै उत्साहित भएको साथै यसै स्तरको शैक्षिक वातावरण कायम राख्न विद्यालय व्यवस्थापन समितिलाई निर्देशन समेत दिनुभयो ।

कार्यक्रममा डिआइजि पोखरेलले उत्कृष्ट शिक्षकहरु राजदिप न्यौपाने, तामेन्द्रमान श्रेष्ठ, अजय तामाङ्ग, निशा खड्का र सुस्मा खरेल, विद्यार्थीतर्फ पुर्णिमा जोशी, आयुष लामिछाने र प्रनिशा कार्की तथा वेष्ट स्कुल क्याप्टेन सुमि गुरुङ्ग, उत्कृष्ट सदन रारा सदनलाई ट्रफि तथा प्रमाणपत्र प्रदान गर्नुभयो ।
यसैगरि उहाँले १३ औं दक्षिण एशियाली खेलकूद (साग)मा भलिवलतर्फ रजत पदक विजेता सो विद्यालयकी ९ कक्षाकी छात्रा उषा भण्डारीलाई नगद १० हजार, पदक र प्रमाणपत्र वितरण गर्नुको साथै विद्यालयमा कार्यरत उत्कृष्ट प्रहरीहरु प्रहरी हवल्दार सुरजकुमार थापा, प्रहरी जवान अनिता सन्मानी, प्रहरी जवान गोकुल बहादुर कार्की, प्रहरी कार्यालय सहयोगीद्वय सरोज पोडे, र चेतकुमारी थापा तथा प्रशासन तर्फका कार्यालय सहयोगी मान बहादुर थापालाई जनही दुई हजार रुपैया तथा प्रमाणपत्र प्रदान गर्नुभयो ।
शिक्षण कार्यमा सहयोग गर्ने महानगरीय सशस्त्र प्रहरी गण महाराजगञ्जकी प्रहरी उपरिक्षक किरण राणालाई पनि सम्मान गरिएको थियोे ।

बिद्यालयका प्राचार्य हरिस प्रकाश भट्टले विद्यालयको वार्षिक गतिविधि एवं स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा जिल्ला शिक्षा विकास तथा समन्वय इकाई काठमाडौंका प्रमुख नन्दलाल पौडेल, काठमाडौं महानगरपालिका ३ नं वडाध्यक्ष दिपक केसी, अभिभावक प्रतिनिधि प्रहरी नायव निरीक्षक घनश्याम उप्रेतीलगायतले मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा सोही विद्यालयका पुर्व समादेशक प्रहरी निरीक्षक हिमा थोकर लामा, नेपाल प्रहरी विद्यालय सांगा, काभ्रेका प्राचार्य संजीव घिमीरे, समादेशक प्रहरी नायव उपरिक्षक श्रीराम भण्डारी, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरु, वरिष्ठ प्रहरी अधिकृतहरु, विद्यालयका पूर्व प्राचार्यहरु, अभिभावकहरु समेतको ठुलो संख्यामा उपस्थिति रहेको सो कार्यक्रममा विद्यार्थीहरुले विविध साँस्कृतिक कार्यक्रम प्रस्तुत गरी कार्यक्रममा थप मनोरञ्जन प्रदान गरेका थिए ।
यसको अलावा विद्यार्थीहरुले प्रस्तुत गरेको विज्ञान प्रर्दशनीको कार्यक्रमका प्रमुख अतिथि डिआइजि पोखरेलका साथै सहभागी भएका वरिष्ठ प्रहरी अधिकृत एवम् अभिभावकहरुले अवलोकन गर्नुभएको थियो ।













प्रतिक्रिया दिनुहोस्