राजनीति

सूर्यविनायकका मेयरले भने–भ्रष्टाचार स्थानीय निकायमा भन्दा माथि झन ठूलो छ



भक्तपुर १९ माघ । सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापाले भ्रष्टाचार स्थानीय निकायहरुमा मात्रै होइन, माथिल्लो राज्यका निकायहरुमा झन बढी हुने गरेको भए पनि, चर्चा स्थानीय निकायको मात्रै बढी हुने गरेको वताए ।

उनले सो कुरा बागमती प्रदेशले आज भक्तपुर जिल्लाको जिल्ला समन्वय समितिमा आयोजना गरेको भ्रष्टाचार सामान्य परिचय र भ्रष्टाचार निवारण सम्बन्धी प्रदेश रणनीति २०७५–२०७९ को कार्यान्वयन सम्बन्धी कार्यक्रममा वताएका हुन् ।

कार्यक्रममा मेयर थापाले सूर्यविनायक नगरपालिकाले ५ लाख भन्दा बढीको योजनाहरुमा टेण्डर प्रक्रियाबाट काम गरेको र प्रत्येक योजनाहरुका काम गर्दा सम्बन्धीत योजनाको भूगोलमा स्वीकुत योजनाको रकम, कामको प्रकृतिको वाल, ढलान के हो साईटमा बोड टाँसेर काम गर्ने गरेको वताए ।

उनले भने– तर प्रदेश र संघबाट आएका योजनाहरुमा हामीहरुले जस्तो बोर्ड राख्ने गरिएको देखिएको छैन् । उनले थपे–स्थानीय निकायले काम गरेका ठाउँहरुमा सम्बन्धीत टोल गाउँका जनताको अगाडी नै काम हुने भएकाले योजनाहरुमा बदामासी गर्ने कम सम्भावना हुन्छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यलयका सचिव लक्ष्मी प्रसाद गौतमले स्थानीय तहले पनि भ्रष्टाचार ,नियन्त्रण र निवारण रणनीतिक कार्ययोजना बनाउनु पर्ने वताए । सो कार्यक्रम जिल्ला समन्वय समितिका संयोजक नवराज गेलालले अध्यक्षतामा भएको थियो ।

संयोजक गेलालले भ्रष्टाचार नियन्त्रणका लागि पहिले मूल नै सफा तलको पानी आफै सफा हुने वताए । सो कार्यक्रममा जिल्लाका मेयरहरु, उपमेयरहरु र वडा अध्यक्षहरुलाई बोलाएको भए पनि सूर्यविनायकका मेयरको मात्रै सहभागिता रहेको थियो ।