काठमाडौँ, २० माघ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले रेडक्रसलाई विश्वव्यापी मान्यता जे छन् सोहीअनुसार चल्न आग्रह गरेका छन् ।
आज नेपाल रेडक्रस सोसाइटी काभ्रेपलाञ्चोकद्वारा ‘ग्रामीण आपत्कालीन तथा ट्रमा प्रणाली सदृढीकरण परियोजना’ अन्तर्गत आयोजित एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा बोल्दै मन्त्री बाँस्कोटाले रेडक्रसमा ‘मति र गति’ भावनानुसार नपाइएपछि विवाद उत्पन्न भएको बताएका छन् ।
उनले भने,‘रेडक्रसजस्तो मानवीय पवित्र संस्थामा किन यस्ता विवाद उठ्छन्, रेडक्रसको विश्वव्यापी मान्यता जे छन् सोहीअनुसार चल्नुस्, कुनै समस्या/विवाद आउँदैन ।’ कमाउधन्दा तथा व्यापारिक संस्थामा विवाद उठ्नु स्वाभाविक मान्ने गरिए पनि विशुद्ध मानवीय भावना बोकेको संस्थामा विवाद आउनु सुखद नभएको उनले बताए ।
उनले ‘सहयोगी राष्ट्रका जनताले कमाएको केही बचाएर नेपालीलाई गरेको सहयोगको विषयमा विवाद उत्पन्न हुँदा कस्तो अर्थ राख्छ भन्ने प्रश्न गर्दै भने, ‘डोनर एजेन्सी (क्यानेडियन) ले पनि त कमाएको पैसाबाट बचाएर हामीलाई सहयोग गरेको हो, यस्तो विषयमा ‘भागशान्ति जय नेपाल’ हैन ‘मिली शान्ति’ एकदम राम्रो हो ।’ रेडक्रसकर्मीको व्यक्तिगत विचार लाद्ने स्थान रेडक्रस नभएको उनले दोहो¥याए ।
उक्त अवसरमा शहरी मन्त्री बाँस्कोटाले क्यानेडिएन रेडक्रसमार्फत काभ्रेपलाञ्चोकको पोखरीचौंरी र बेथानचोक गाउँपालिकालाई प्रदान गरिएको एम्बुलेन्सको साँचो सम्बन्धित गाउँपालिका अध्यक्षद्वयलाई हस्तान्तरण गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्