रमेश गिरी
भक्तपुर, २० माघ ।रमेश गिरी । सरकारले भक्तपुरका दुई ठाउँमा स्याटेलाइट सिटी बनाउने भएको छ । सरकारले काठमाडौ भित्र बनाउने चारवटा स्याटेलाइट सिटी मध्ये दुई वटा भक्तपुरमा बन्ने भएको हो ।
यसकाबारेमा काठमाडौ उपत्यका विकास प्राधिकरणले भक्तपुरमा निर्माण हुने स्याटेलाइट सिटीको बिस्तृत परियोजना प्रतिवेदन डीपीआर निर्माण सम्पन्न गरेको छ ।
सरकारले काठमाडौँ उपत्यकाको पूर्वतर्फ करिब एक लाख रोपनीमा फैलिने गरि सबैभन्दा ठूलो अत्याधुनिक शहर बनाउने भएको हो । काठमाण्डौं उपत्यकाबाट ‘इशान’ कोणको रुपमा लिइएको यसलाई भक्तपुरको नगरकोट जाने सडक, तेलकोट सडक, पश्चिमतर्फ जोरपाटी, क्रिकेट मैदान, मूलपानी, गोठाटार हुँदै मनोहरा पुलसम्म फैलिने सांसद महेश बस्नेतले जानकारी दिनुभयो ।
यस कोणको उत्तरमा साँखु बजार र साँखु जाने मूल सडकसम्म विस्तार हुने यो शहर भक्तपुरको पुरानो थिमिको बाटो, सैनिक प्रतिष्ठान खरिपाटी, भक्तपुर नगरपालिकाको इतापाके जग्गा एकीककरण आयोजनासहितको क्षेत्रमा फैलिने भएको बस्नेतले जानकारी दिनुभयो ।
निर्माण भएको डीपीआर अनुसार यो शहर निर्माणका लागि रु। १ खर्ब खर्च हुने भएको प्राधिकणका आयुक्त भाईकाजी तिवारीले जानकारी दिनुभयो । सरकारले विकास गर्न लागेको यो कोण सबैभन्दा ठूलो बस्ती विकास हुने गरि योजना तयार पारिएको बताईएको छ । चाँगुनारायण नगरपालिकाको करिब ६० हजार रोपनी र भक्तपुर, मध्यपुर।थिमि, कागेश्वरी मनोहरा, शंखरापुर नगरपालिका गरि पाँचवटा नगरपालिकामा फैलिनेछ ।
सरकारले विकास गर्ने भएको स्याटेलाइट सिटी मध्ये ‘आग्नेय’ शहरतर्फ भने करिब १८ हजार रोपनीमा फैलिने भएको छ । यो शहरले पूर्वतर्फ भक्तपुरको सूर्यविनायक चोकदेखि सूर्यविनायक गणेश मन्दिर अगाडिको वनक्षेत्रलाई समेट्दै पश्चिमतर्फ गुण्डुको खहरे खोला, नयाँ बालकोट, बिरुवा सडक, पानी ट्यांकी, पुरानो बालकोट, अमरनगर, थिमी हुँदै अरनिको राजमार्गसम्म फैलिनेछ ।
त्यस्तै उत्तरतर्फ अरनिको राजमार्ग हुदै दक्षिणतर्फ सिलामगाल, रानीकोट जंगलछेउ, अनन्तलिंगेश्वर फेदी, तर्खगाल, पात्लेटार, बिरुवा हुँदै खहरेसम्म यो शहर फैलिने गरि सिमा निर्धारण गर्दै डीपीआर तयार भएको सांसद बस्नेतले बताउनुभयो । प्राधिकरणका अनुसार यो शहर निर्माणका लागि रु। १० अर्बभन्दा बढी खर्च हुनेछ । सरकारले उपत्यकाभित्रै झण्डै एक लाख ४० हजार रोपनी क्षेत्रफलमा चार वटा नयाँ शहर निर्माण गरि व्यबस्थित बस्ती विकास गर्ने गरि योजना अगाडि सारेको छ ।
सरकारले नयाँ शहर विकास गर्ने क्षेत्रमा ८ आनाभन्दा कम जग्गा कित्ताकाट गर्न नपाउने र नयाँ भवन निर्माणमा समेत रोक लगाएको भएपनि भूकम्पले क्षति भएका घरहरुलाई साविकको जगमा निर्माण गर्न भने पुर्ननिर्माण प्राधिकरणले दिएको अधिकारलाई दुरुपयोग गरि स्थानीय तहले घर निर्माणका लागि सहमति दिएका छन् । जसका कारण सरकारले अघि सारेको नयषँ शहर निर्माणलाई प्रभाव पारेका छन् ।
स्याटेलाइट सिटी निर्माणका लागि सरकारले स्थानीयको जग्गा एकीकरण गरि विभिन्न अत्यावश्यक पूर्वाधारहरु निर्माण गर्दै व्यबस्थित वस्ती विकास गर्ने भएको छ । सम्पूर्ण पूर्वाधारयुक्त वस्ती विकास पछि स्थानीयलाई जग्गा हस्तान्तरण गर्ने योजना रहेको आयुक्त तिवारीले जानकारी दिनुभयो ।
निर्माण भएको स्याटेलाइट सिटीको डीपीआरलाई प्राधिककरण सञ्चालक समितिले पास गर्नुपर्नेछ । त्यसपछि शहरी विकास मन्त्रीको संयोजकत्वमा रहेको भौतिक विकास सिमितिले अनुमोदन गरेसंगै मन्त्रालयले डीपीआर मन्त्रिपरिषदमा पेश गरि मन्त्रीपरिषदले पास गरेपछि सम्बन्धित नगरपालिकाको नगरप्रमुखको अध्यक्षतामा व्यबस्थापन समिति गठन गर्नेछ ।
प्रत्येक बस्तीमा उपभोक्ता समिति निर्माण गरि शहरी विकास मन्त्रालय, निजी क्षेत्र तथा अन्तराष्ट्रिय लगानीकर्ताहरुको समेत लगानीमा शहर निर्माणको काम सुरु हुने आयुक्त तिवारीको भनाई छ । स्याटेलाइट सिटी विकास पछि यस्ता शहरमा जथाभावी घडेरी टुक्रापारी बिक्री भने गर्न पाईने छैन । बालकोट, गुण्डु, दधिकोट, सिरुटार आग्नेय कोणका लागि चाईनाको प्रतिष्ठित कम्पनीले लगानी गर्न ईच्छा देखाउदै लगानी बोर्डमा आशयपत्र बुझाएको सांसद बस्नेतले जानकारी दिनुभयो ।
यस्ता शहरमा साइकल लेनसहितको सडक र पूर्वाधारलाई मुख्य प्राथमिकता दिईने, प्रशस्त खुला क्षेत्रहरु राख्ने, आवश्यक खेल मैदान, पार्क, स्वीमिङ्ग पुल, हरियाली, यातायात सञ्जाल, खानेपानी, बिजुली, शिक्षा, स्वास्थ्यलगायत पूर्वाधार समेतको विकास गरिने भएको छ ।
स्याटेलाइट सिटीमा आवासीय, व्यापारिक र औद्योगिक क्षेत्रलाई छुट्टाछुट्टै स्थानमा व्यबस्थित गरिनेछ भने विद्युत तथा ईन्टरनेट, टेफिफोन तारलाई अन्डरग्राउन्ड गर्ने, फोहोरमैला व्यवस्थापन गर्ने योजना समेत रहेको छ ।
भक्तपुरलाई समेटेर दुईवटा स्याटेलाईट सिटीसंगै सरकारले तेस्रो सिटीका १० हजार रोपनी क्षेत्रफलमा ललितपुरमा अर्को शहर विकास गर्ने भएको छ । ललितपुरको पूर्वमा खोकना बुङमति भएर छम्पी जाने बाटो हुदै तत्कालीन वडा नम्बर २ देखि ६ सम्म, पश्चिम र दक्षिणतर्फ वागमती नदीको सीमासम्म र उत्तरतर्फ साविकको सैँबुसम्म यो शहर विस्तार गरिनेछ । ‘नैऋत्य’ शहर नाम दिएको यस क्षेत्रमा पनि १० हजार रोपनीमा फैलिने भएको छ ।
काठमाण्डौंमा चौथो शहर ‘उत्तर’ को रुपमा सामाखुसी, टोखा सडक हुँदै बाइपाससम्म सीमा निर्धारण गरिएको छ । यसको उत्तरतर्फ सपनतीर्थ मालुङ हुँदै काभ्रेस्थलीको बाटोसम्म फैलिने, दक्षिणमा ग्रिननल्यान्ड चोकदेखि महादेवखोला काभ्रेस्थली मूल सडकलाई छुने भएको छ । त्यस्तै पश्चिमतर्फ काभ्रेस्थलीदेखि बाइपास आउने मूल सडकसम्म १० हजार क्षेत्रफलमा यो शहर फैलिनेछ ।
तीनवटा प्रस्तावित नयाँ शहरको डिपिआर तयार भएपनि अन्तिम ‘उत्तर’ को डिपिआरभने चालू आ।ब।भित्र तयार हुने भएको छ । चारवटा यो शहर निर्माणका लागि करिब २ खर्ब ४० अर्ब रुपैया लाग्ने अनुमान गरिएको छ । आगामी १० वर्षभित्र स्याटेलाईट सिटीको विकास गरि यो चार शहरमा पाँच लाख मानिस बस्नसक्ने गरि व्यबस्थापन गर्ने गरि कार्य अगाडि बढाएको आयुक्त तिवारीले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्